नयाँ प्रस्ताव, नयाँ शक्ति’ भन्दै विप्लव माओवादी चुनावी मैदानमा
२०८२ माघ १८, आईतवार २१:५०
काठमाडौ माघ १८ आइतबार ,१२ वर्षपछि चुनावी राजनीतिमा पुनः प्रवेश गरेको नेकपा (माओवादी) ले आइतबार काठमाडौंमा २० बुँदे चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको प्रतिबद्धतामा पार्टीले सुशासन, स्थिर सरकार र जनपक्षीय नीतिलाई मुख्य आधार बनाएको छ।
महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले देश नयाँ राजनीतिक मोडमा पुगेको दाबी गर्दै भने,
“यो निर्वाचन पुरानै सोच र अभ्यासको पुनरावृत्ति होइन, नयाँ प्रस्ताव, नयाँ उद्देश्य र नयाँ शक्तिसहितको हस्तक्षेप हो।”
उनका अनुसार भ्रष्टाचार, कमिसनखोरी, तस्करी र राष्ट्रघाती प्रवृत्तिबाट आजित नागरिक अब नयाँ विचार र नेतृत्व खोजिरहेका छन्। यही चाहनालाई सम्बोधन गर्न माओवादी निर्वाचनमा सहभागी भएको दाबी उनको छ।
माओवादीले प्रतिबद्धता पत्रमा समाजवादी सङ्घीय राज्यमा पुनर्संरचना, राज्यका सबै अंगमा समावेशी र समानुपातिक सहभागिता, तथा मजदुर, किसान, श्रमजीवी र उत्पीडित समुदायलाई राजनीतिक–आर्थिक रूपमा सशक्त बनाउने लक्ष्य उल्लेख गरेको छ।
विप्लवका शब्दमा,”यस्तो राज्य व्यवस्थाले मात्र दलित, महिला, जनजाति, मधेसीलगायत उत्पीडित समुदायलाई एकताबद्ध र अधिकारसम्पन्न बनाउँछ।”
पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा होमिएको माओवादीले आशा र भरोसाका साथ चुनावी मैदानमा उत्रिएको सन्देश दिएको छ राजनीतिमा फेरि एकपटक ‘फरक आवाज’ सुनाउने दाबीका साथ।




