भारतीय बजेटमा नेपालका लागि बढ्यो अनुदान
२०८२ माघ १८, आईतवार २२:००आगामी वर्ष १२ अर्ब ८० करोड रुपैयाँ सहयोग

नयाँदिल्ली , माघ १८ आइतबार भारत सरकारले आगामी आर्थिक वर्षमा नेपाललाई १२ अर्ब ८० करोड नेपाली रुपैयाँ बराबरको अनुदान उपलब्ध गराउने भएको छ। भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आइतबार संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०२६/२७ को बजेट भाषणमा नेपालका लागि उक्त रकम विनियोजन गरिएको हो।
बजेट विवरणअनुसार भारतले नेपाललाई ७ सय करोड भारतीय रुपैयाँ अनुदान दिने उल्लेख छ, जुन नेपाली रुपैयाँमा १२ अर्बभन्दा बढी पर्न जान्छ। चालु आर्थिक वर्षमा भने भारतले नेपाललाई ७ सय ३० करोड भारतीय रुपैयाँ उपलब्ध गराउने संशोधित अनुमान गरिएको छ।
दक्षिण एशियाली मुलुकहरूमध्ये भारतले सबैभन्दा बढी भुटानलाई २ हजार २ सय ८८ करोड भारतीय रुपैयाँ अनुदान दिने घोषणा गरेको छ। भारतले पाकिस्तानबाहेक अन्य सबै छिमेकी तथा दक्षिण एशियाली मुलुकलाई नियमित रूपमा अनुदान दिँदै आएको छ।
भारतीय बजेटमा नेपालको लागि निरन्तर अनुदान कायम रहनुलाई दुई देशबीचको कूटनीतिक र विकास साझेदारीको निरन्तरताका रूपमा हेरिएको छ।




