कहाँ–कहाँ भयो चुनावी गठबन्धन ? कसरी वन्दै छ समिकरण
२०८२ माघ १९, सोमबार ०६:५३
काठमाडौं माघ १९, राष्ट्रव्यापी चुनावी गठबन्धन नबने पनि दलहरू र उम्मेदवारहरू आफ्नो राजनीतिक अनुकूलता हेरेर स्थानीय तहमा तालमेल गर्दै अघि बढिरहेका छन्।
गोरखामा प्रलोपा उम्मेदवारविहीन
गोरखा–१ र २ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार छैनन्। कसलाई समर्थन गर्ने भन्ने विषयमा निर्णय लिन प्रलोपाले जिल्ला इन्चार्ज यानप्रसाद भट्टको नेतृत्वमा तीन सदस्यीय राजनीतिक संवाद समिति गठन गरेको छ।
प्रलोपा नेताहरूका अनुसार रास्वपा, नेकपा लगायत दलसँग संवाद भइरहेको छ।
गोरखा–२ मा उम्मेदवारी फिर्ता लिनुअघि प्रलोपा संरक्षक डा. बाबुराम भट्टराईले माघ ९ गते नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका थिए। भेटवार्ताको औपचारिक निष्कर्ष सार्वजनिक भएको छैन।
सुनसरी–भोजपुरमा श्रम संस्कृति पार्टीसँग सहकार्य
प्रलोपा नेता सुदन किरातीले सुनसरी–१ मा धरानका पूर्व मेयर हर्क साम्पाङ र भोजपुरमा ध्रुवराज राईलाई समर्थन गरेका छन्। यी दुवै श्रम संस्कृति पार्टीका उम्मेदवार हुन्।
समर्थनको बदलामा श्रम संस्कृति पार्टीले प्रलोपालाई कहाँ सघाउने भन्ने विषय खुल्न बाँकी छ।
एमाले–प्रलोपा कर्णाली केन्द्रित तालमेल
माघ ११ गते एमाले र प्रलोपाबीच कर्णाली प्रदेशलाई केन्द्रमा राखेर चुनावी तालमेल गर्ने सहमति भएको थियो।
सहमति अनुसार रूकुम पश्चिममा जनार्दन शर्मा र रूकुम पूर्वमा सन्दिप पुनलाई एमालेले सहयोग गर्नेछ। बदलेमा प्रलोपाले अन्य जिल्लामा एमाले उम्मेदवारलाई समर्थन गर्नेछ।
बागलुङमा नेकपा–जनमोर्चा गठबन्धन
बागलुङ–१ मा राष्ट्रिय जनमोर्चा र बागलुङ–२ मा नेकपाका उम्मेदवारबीच तालमेल भएको छ। अघिल्लो निर्वाचनको मत परिणामलाई आधार मानेर दुवै दलले रणनीति तय गरेका छन्।
रूपन्देही र झापामा संवाद
रूपन्देही–२ मा राप्रपाको उम्मेदवारी फिर्ता भएपछि अन्य दलसँग तालमेलको प्रयास भइरहेको छ। झापा–३ र ५ मा पनि दलहरूबीच अनौपचारिक संवाद जारी छ।
मनाङमा अनौठो समीकरण
मनाङमा कांग्रेस, नेकपा र मंगोल नेशनल अर्गनाइजेशनका गरी तीन जना मात्र उम्मेदवार छन्। एमाले, रास्वपा र राप्रपा उम्मेदवारविहीन छन्। यहाँ कांग्रेस र नेकपाले अन्य दलसँग तालमेलको प्रयास गरिरहेका छन्।




