काठमाडौं माघ १९ ,निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै थप ९ जनासँग स्पष्टीकरण माग गरेको छ । हालसम्म २९ जनालाई स्पष्टीकरण सोधिँदा १४ जनाको जवाफ प्राप्त भएको आयोगले जनाएको छ ।

बाजुरामा रास्वपाका उम्मेदवार हेमराज थापाले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँविरुद्ध अपमानजनक र धम्कीपूर्ण अभिव्यक्ति दिएको उजुरी परेपछि तीन दिनभित्र जवाफ दिन निर्देशन दिइएको छ ।

यस्तै, झापा–५ का रास्वपा उम्मेदवार बालेन्द्र शाह (बालेन) सँग सादा पोसाकका प्रहरी भोट मागिरहेको देखिने श्रव्यदृश्य सामग्रीका आधारमा आयोगले दोस्रोपटक स्पष्टीकरण मागेको छ ।

सिन्धुपाल्चोक–१ मा निर्वाचन कार्यालय बाहिर पार्टीको चिह्न पेन्ट गरेको विषयमा नेकपा र उम्मेदवार माधव सापकोटासँग पनि आयोगले स्पष्टीकरण सोधेको छ ।

आयोगले भ्रामक तथा अमर्यादित प्रचारप्रसार गर्ने व्यक्ति र सञ्चारमाध्यममाथि कारबाहीका लागि प्रेस काउन्सिल नेपाललाई पत्राचार गरेको छ ।