चुनावी सुरक्षा उच्च सतर्कतामा : बुधबारदेखि सेना फिल्डमा
२०८२ माघ १९, सोमबार २०:४२कारागारदेखि विमानस्थलसम्म सेनाको जिम्मा, ५ स्थानमा हेलिकप्टर स्ट्यान्डबाइ

काठमाडौं माघ १९, आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली सेना बुधबार (२१ माघ) बाट फिल्डमा परिचालित हुने भएको छ। एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ अनुसार सेना गस्ती, हवाई निगरानी र आपतकालीन प्रतिकार्यमा खटिनेछ।
सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार निर्वाचन पूर्व, निर्वाचन अवधि र निर्वाचनपछिका तीनै चरणमा सेना तेस्रो घेरामा रहेर सुरक्षा प्रदान गर्नेछ। “सम्पूर्ण तयारी पूरा भएको छ,” उनले बताए।
निर्वाचन अवधिभर देशभर ७९ हजार ७२७ सैनिक परिचालन हुनेछन्। संवेदनशील र अतिसंवेदनशील क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग संयुक्त गस्ती हुनेछ।
विकट तथा अतिसंवेदनशील क्षेत्रमा हवाई गस्ती गरिनेछ। मतपेटिका ढुवानीका लागि सुर्खेत, पोखरा, काठमाडौं, विराटनगर र इटहरीमा हेलिकप्टर स्ट्यान्डबाइ राखिएको छ।
संभावित बिस्फोटक जोखिम न्यूनीकरणका लागि अतिसंवेदनशील मतदानस्थल केन्द्रित बम डिस्पोजल टोली तैनाथ गरिएको छ। विगतमा देखिएका होक्स र छिटपुट प्रयासलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाइएको सेनाले जनाएको छ।
निर्वाचनका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य विमानस्थल, कारागार, सिंहदरबारलगायत महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा नेपाली सेनाले सम्हाल्नेछ।
निर्वाचनमा चारै सुरक्षा निकाय र निर्वाचन प्रहरी गरी ३ लाख ३३ हजार ९८० सुरक्षाकर्मी परिचालन हुनेछन्। नेपाल प्रहरी ७५,५९७, सशस्त्र प्रहरी ३४,५७६ र निर्वाचन प्रहरी ठूलो संख्यामा खटाइँदैछन्।
देशभर ३ हजार ६८० मतदानस्थल अतिसंवेदनशील सूचीमा छन्। सबैभन्दा चुनौतीपूर्ण मधेश प्रदेशमा मात्र १,२४६ अतिसंवेदनशील मतदानस्थल रहेका छन्।




