जेनजी आन्दोलनले जलाएको कोइराला निवासमै गुञ्जिए बीपीका विचार, ‘राष्ट्र र लोकतन्त्र बचाउन एकता जरुरी’ : डा. शेखर कोइराला
२०८२ माघ २१, बुधबार २२:४९
विराटनगर माघ २१, जेनजी आन्दोलनका क्रममा जलाइएको विराटनगरस्थित कोइराला निवासमै बुधबार ‘जलाइएको निवास र बाँचेका विचार’ विषयक कविता वाचन कार्यक्रम आयोजना गरिएको छ । नेपाली लेखक संघ मोरङको आयोजनामा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रियता, लोकतन्त्र र समाजवाद मजबुत बनाउन सबै पक्ष एकताबद्ध हुनुपर्ने बताएका छन् ।
डा. कोइरालाले पछिल्लो समय लोकतन्त्रका आधारभूत मूल्य र मान्यताप्रति बेवास्ता बढ्दै गएको भन्दै कांग्रेस आफ्नो विचार र सिद्धान्तमा दृढ रहेको स्पष्ट पारे । सुशासन, भ्रष्टाचार नियन्त्रण र रोजगारी सिर्जनाका मुद्दा आफूले विगतदेखि उठाउँदै आएको उल्लेख गर्दै उनले युवाको सहभागिता स्थानीय तहदेखि केन्द्रसम्म बढाउनुपर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता सूर्यराज राई, प्राडा हरिहर भण्डारी र साहित्यकार सीमा आभासले बीपी कोइरालाको साहित्यिक योगदान र राजनीतिक चिन्तनमाथि धारणा राखे । राईले जेनजी आन्दोलनले कोइराला निवास जलाए पनि त्यहाँबाट जन्मिएका विचार कहिल्यै नजल्ने बताए ।
साहित्यकार तथा प्राध्यापक कविराज न्यौपानेले कोइराला निवास जल्नु केवल आगलागीको घटना नभई नेपाली मन, राजनीति र साहित्यमा परेको गहिरो चोटको प्रतीक भएको बताए । बीपीले देश र जनताका लागि देखेको समाजवाद र प्रजातन्त्रको सपना अझै सान्दर्भिक रहेको उनको भनाइ थियो ।
कार्यक्रममा विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, चूडामणि नेपाल ‘अकिञ्चन’, जेनजी अर्पित कुँवरलगायतले बीपी कोइरालाका कविता वाचन गरेका थिए । आयोजक समितिका अध्यक्ष दिङ्लाली कान्छोको अध्यक्षतामा भएको कार्यक्रममा लेखक संघ मोरङकी सचिव शुभलक्ष्मी लम्सालले जलेकै भवनमा कार्यक्रम आयोजना गरेर बीपीका विचारलाई जीवित राखिएकाे जनाइन् ।




