दुई चरणको निर्वाचन बहानामा धाँधलीको आशंका : ओली
२०८२ माघ २१, बुधबार २२:५९
काठमाडौं माघ २१ ,नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा निर्वाचन दुई चरणमा गराउने सरकारी तयारीप्रति कडा आपत्ति जनाएका छन् । दुई चरणको बहानामा निर्वाचन प्रक्रियामा चलखेल हुनसक्ने आशंका व्यक्त गर्दै उनले सरकारको नियतमाथि गम्भीर प्रश्न उठाएका हुन् ।
बुधबार साँझ काठमाडौंमा आयोजित झापाली समुदायसँगको निर्वाचन विशेष भेटघाट कार्यक्रममा बोल्दै ओलीले हिमाली क्षेत्रमा हिउँ पर्ने पुरानै यथार्थलाई अहिले आएर मात्रै कारण देखाइनु शंकास्पद भएको बताए । “हिउँ पर्छ भन्ने कुरा नयाँ होइन । यदि एकै दिन चुनाव सम्भव छैन भने मिति सारेर भए पनि एकै चरणमा गर्नुपर्छ,” उनले भने
उनले निर्वाचन प्रक्रियामा पूर्ण पारदर्शिता र निष्पक्षता अनिवार्य रहेको भन्दै मतपेटिका एक सेकेन्डका लागि पनि उम्मेदवार वा पार्टी प्रतिनिधिको निगरानी बाहिर जान नहुने स्पष्ट पारे । मतदान सकिनासाथ मतपेटिका पार्टी प्रतिनिधिहरूको रोहबरमा मतगणना स्थलमा पुर्याएर तुरुन्तै खोल्नुपर्ने उनको माग छ ।
“मतपेटिका राखेर छोड, हामीमाथि विश्वास गर भन्ने कुरा मान्य हुँदैन,” ओलीले भने, “बल प्रयोग गरेर विश्वास गराउने सोच लोकतान्त्रिक होइन ।”
राज्यले कसैलाई जिताउने र कसैलाई हराउने नियत राखे त्यसले देशलाई गम्भीर संकटतर्फ धकेल्ने चेतावनी दिँदै उनले निष्पक्षता कायम नभए प्रतिवाद हुने स्पष्ट संकेत दिए । एमाले चुनाव खेल्न होइन, देश बनाउने संकल्पसहित अघि बढेको राजनीतिक शक्ति भएको उनको दाबी छ ।
सरकार र निर्वाचन आयोगलाई जिम्मेवार ढंगले अघि बढ्न आग्रह गर्दै ओलीले पेलपाल, धाँधली र मनपरी सह्य नहुने चेतावनीसमेत दिए ।




