लोकतन्त्रको पर्यायवाची कांग्रेस : युवामा भरोसा, देशमा आशा : डा शेखर काेइराला
२०८२ माघ २३, शुक्रबार १९:००
बुढीगंगा माेरङ माघ २३ ,नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस र लोकतन्त्र एक–अर्काका पर्यायवाची भएको स्पष्ट सन्देश दिएका छन् । कांग्रेसमा युवाको सक्रिय सहभागिता बढे लोकतन्त्र अझ बलियो हुने उनको भनाइ छ ।
नेपाली कांग्रेस पार्टीका शुभेच्छुक संस्थाका प्रतिनिधिहरूको बुढीगंगा गाउँ पालिकामा भेलालाई सम्बोधन गर्दै उनले लोकतन्त्रको स्थायित्वका लागि कांग्रेसप्रति युवाको आकर्षण बढाउनुपर्नेमा जोड दिए । प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका डा. कोइरालाले भने, “कांग्रेस कमजोर भयो भने लोकतन्त्र कमजोर हुन्छ, लोकतन्त्र कमजोर भयो भने देश कमजोर हुन्छ । त्यसैले कांग्रेसलाई जीवन्त, समावेशी र युवामैत्री बनाउन आजको आवश्यकता हो ।”
डा काेइरालले युवामा कांग्रेसको ऐतिहासिक भूमिका, त्याग र योगदानबारे जनचेतना फैलाउनुपर्ने बताउँदै लोकतन्त्रको रक्षा र देश विकासको मुख्य जिम्मेवारी कांग्रेसकै काँधमा रहेको उल्लेख गरे । साथै, अन्य राजनीतिक दलहरूसँगको प्रतिस्पर्धामा कांग्रेस एकढिक्का भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
युवा राजनीति विश्लेषक दर्शनराज न्यौपानेले डा. शेखर कोइरालालाई देश तथा यस क्षेत्रको राजनीति सही दिशातर्फ डोर्याउन सक्ने दूरदर्शी नेतृत्वका रूपमा मूल्यांकन गरे । उनका अनुसार, “डा. कोइरालामा संवादको संस्कृति विकास गर्ने, सहकार्यलाई संस्थागत गर्ने र सहमतिमार्फत राजनीतिक निकास खोज्ने दुर्लभ क्षमता छ । उहाँ जस्तो संयमी, परिपक्व र लोकतान्त्रिक सोच भएका नेताले अन्य दलका शीर्ष नेतृत्वसँग पनि सम्मानजनक सम्बन्ध कायम गर्दै राष्ट्रिय सहमतिको आधार तयार गर्न सक्नुहुन्छ, जसले मुलुकलाई दीर्घकालीन स्थायित्व र समृद्धिको बाटोमा अघि बढाउँछ ।”
भेलामा सहभागीहरूले युवामैत्री नीति, संगठन सुदृढीकरण र वैचारिक प्रशिक्षणलाई प्राथमिकतामा राख्दै कांग्रेसलाई देशकै नेतृत्वमा उभ्याउनुपर्ने आवश्यकता औंल्याएका थिए ।




