निर्वाचन सुरक्षा कडाइ : नेपाल–भारत सीमा ४८ घण्टा ‘सील’ हुने
२०८२ माघ २३, शुक्रबार २२:४३
काठमाडौं माघ २३, आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमाक्षेत्रमा सुरक्षा व्यवस्थालाई उच्च सतर्कतामा राखिने भएको छ । निर्वाचन हुनुभन्दा ४८ घण्टाअघि नै दुवै देशका सीमाका प्रमुख नाकाहरू बन्द गर्ने निर्णय भएको छ
मोरङमा सम्पन्न सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल (एसएसबी)बीचको १६औँ डिआइजीस्तरीय समन्वय बैठकले सीमाक्षेत्रलाई संवेदनशील मानेर यस्तो निर्णय लिएको हो । बैठकमा सीमा सुरक्षालाई मजबुत बनाउने, सूचनाको त्वरित आदान–प्रदान गर्ने तथा आपराधिक गतिविधि रोकथाममा सहकार्य बढाउने विषयमा विस्तृत छलफल भएको सशस्त्र प्रहरीले जनाएको छ
निर्वाचन अवधिमा तेस्रो मुलुकका नागरिकको अवैध आवतजावत नियन्त्रण, मानव बेचबिखन, नक्कली मुद्रा, हातहतियार तथा लागुऔषध ओसारपसारजस्ता अपराधलाई कडाइका साथ नियन्त्रण गर्ने सहमति भएको छ । साथै, सीमास्तम्भको संरक्षण, संयुक्त गस्ती, यात्रु सहजीकरण, विपद् उद्धार अभ्यास र आपसी खेलकुद गतिविधि सञ्चालन गर्ने विषयमा पनि दुवै पक्षबीच समझदारी भएको छ ।
सीमाक्षेत्रका सम्भावित जोखिमयुक्त नाकाहरू पहिचान गरी त्यसबाट हुनसक्ने खतरा मूल्याङ्कन गर्ने, शरणार्थी तथा आप्रवासी गतिविधिमाथि निगरानी बढाउने र विभिन्न तहमा नियमित चेकजाँच गर्ने निर्णयसमेत गरिएको छ ।
बैठकमा सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति नायब महानिरीक्षक कुमार न्यौपानेले नेपाल–भारत सीमा केवल भौगोलिक रेखा नभई दुई देशबीचको मित्रताको प्रतीक भएको बताए । भारतीय एसएसबीका डिआइजी सरोजकुमार ठाकुरले पनि सीमाक्षेत्रलाई अझ सुरक्षित र व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरे ।
समन्वय बैठकमा सशस्त्र प्रहरी नायब महानिरीक्षकहरू अन्जनीकुमार पोख्रेल, दिपेन्द्र शाह, कृष्ण ढकाल, मनिष थापा तथा भारतीय पक्षबाट डिआइजी सरोजकुमार ठाकुर, मन्जीत सिंह, सुरेश सुब्रमण्यम, राजेस टिक्कु र मनिष कुमारको उपस्थिति रहेको थियो ।




