काठमाडौं, माघ २५ — नेपाल व्यवस्थापन संघ (MAN) को २२औँ कार्यकारी समितिको सभापतिमा श्रीमती हेमाकुमारी अधिकारी न्यौपाने निर्वाचित हुनुभएको छ। 

गत बिहीबार काठमाडौंमा सम्पन्न निर्वाचनबाट उहाँ सर्वसम्मत रूपमा सभापतिमा चयन हुनुभएको हो।

नयाँ कार्यकारी समितिमा उपसभापतिमा श्री जितेन्द्र धिताल र श्री कृष्णप्रसाद आचार्य, महासचिवमा श्री इन्द्रकुमार श्रेष्ठ तथा कोषाध्यक्षमा श्री चंकी क्षेत्री निर्वाचित भएका छन्।

निर्वाचनपछि प्रतिक्रिया दिँदै सभापति अधिकारी न्याैपानेले एकमत निर्वाचनले संस्थाप्रतिको विश्वास र नेतृत्वप्रतिको भरोसा झल्काउने बताउनुभयो। उहाँले ४५ वर्षको गौरवशाली विरासत बोकेको संस्थालाई थप सुदृढ बनाउँदै व्यवस्थापन क्षेत्रको अनुसन्धान, शिक्षा र व्यावसायिक नेटवर्किङमार्फत नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

साथै, उहाँले राष्ट्रिय सम्मेलनमा सहभागी मुख्य अतिथि, स्रोत व्यक्ति तथा विभिन्न विधाका पुरस्कार विजेताहरूप्रति धन्यवाद ज्ञापन गर्नुभयो।

नेपाल व्यवस्थापन संघले व्यवस्थापन क्षेत्रमा क्षमता अभिवृद्धि, अनुसन्धान प्रवर्द्धन तथा पेशागत सहकार्य विस्तार गर्दै निरन्तर योगदान दिँदै आएको छ।