विराटनगर, माघ २५ – फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि मोरङमा मतदान सामग्री प्याकिङ प्रक्रिया सुरु भएको छ

प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार, ३७ प्रकारका मतदान सामग्रीहरू प्याकिङ सुरु गरिएको छ। यसमा अनुसूची फारम, परिचय पत्र, सियो धागो, लाहा, स्वस्तिक छाप, मतपत्र प्याकिङ झोला लगायतका सामग्री समावेश छन्। यीमध्ये अधिकांश स्थानीय बजारबाट खरिद गरिएको र बाँकी १५ प्रकारका सामग्री केन्द्रबाट प्राप्त हुनेछन्।

मोरङमा १ महानगरपालिका, ८ नगरपालिका र ८ गाउँपालिकामा कुल ३६६ मतदान स्थल र ८८८ मतदान केन्द्र सञ्चालन हुने निर्वाचन अधिकृतहरूले जानकारी दिएका छन्।

मतदान अधिकृत तथा सहायक अधिकृतहरूलाई दुई दिने तालिम दिइएपछि उनीहरूलाई नियुक्ति पत्र, निर्वाचन सामग्री, मतपत्र र रकम हस्तान्तरण गरी सम्बन्धित मतदान केन्द्रमा पठाइने तयारी रहेको छ।