‘सुशासन र स्थिरतामार्फत देशलाई निकास’ भन्ने साझा सन्देश

विराटनगर माघ २६, नेपाली कांग्रेस कोशी प्रदेश समितिद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा सभापति गगन थापाले कांग्रेस नेतृत्वको सरकार बनेपछि ‘नागरिक तल र सरकार माथि’ रहने पुरानो सोच अन्त्य गर्ने दाबी गरे

कार्यक्रमको विशेषता भनेको गगन थापासँगै पार्टीका प्रभावशाली नेता डा. शेखर कोइराला र वरिष्ठ नेता विजयकुमार गच्छदारको एउटै मञ्चमा उपस्थित हुनु हो।

 पछिल्ला दिनहरूमा कांग्रेसभित्र देखिएको आन्तरिक प्रतिस्पर्धाका बीच यी तीन नेताको संयुक्त उपस्थितिलाई पार्टीभित्र बढ्दै गएको सहकार्य र एकताको संकेतका रूपमा हेरिएको छ

गगन थापाले आगामी पाँच वर्षलाई ‘डेलिभरी’ र ‘पर्फोर्मेन्स’ को वर्ष बनाइने बताउँदै सरकार प्रत्येक महिनाको पहिलो दिन आफ्ना लक्ष्य सार्वजनिक गर्ने र महिनाको अन्त्यमा उपलब्धिको विवरण नागरिकसमक्ष पेश गर्ने प्रणाली सुरु गरिने दाबी गरे। यसले नागरिकलाई सरकारको काम पाँच वर्ष कुर्नु नपरी निरन्तर मूल्यांकन गर्ने अवसर दिने उनको भनाइ छ।

कार्यक्रममा बोल्दै डा. शेखर कोइरालाले देशको राजनीतिक स्थिरता र सुशासनका लागि कांग्रेसले जिम्मेवार भूमिका खेल्नुपर्नेमा जोड दिए। उनले पार्टीभित्रको विविध मतलाई शक्ति बनाएर अघि बढ्न सके मात्र कांग्रेसले जनताको भरोसा जित्ने बताए।

वरिष्ठ नेता विजय गच्छदारले कांग्रेस संघीय संरचनामा सबै तहका सरकारलाई सन्तुलनका साथ अघि बढाउन सक्ने क्षमता भएको पार्टी भएको उल्लेख गर्दै विकास, रोजगारी र लगानीमैत्री वातावरण निर्माण कांग्रेसको प्रमुख प्राथमिकता हुनुपर्ने धारणा राखे।

राजनीतिक विश्लेषकहरूका अनुसार एउटै मञ्चमा गगन, शेखर र विजयको उपस्थिति कांग्रेसले आगामी दिनमा एकताबद्ध भएर सरकार सञ्चालनको तयारी गरिरहेको सन्देश हो। आन्तरिक असहमतिभन्दा माथि उठेर साझा एजेन्डामा केन्द्रित हुन सके कांग्रेसले मुलुकलाई स्थायित्व र सुधार दुवै दिन सक्छ भन्ने संकेत यस कार्यक्रमले दिएको उनीहरूको टिप्पणी छ।