उद्योगले धुवाँ उडाउँछन्, उम्मेदवार मौन छन्
२०८२ माघ २७, मंगलवार १०:४३
सुनसरी दुहबी , माघ २७, मोरङ–सुनसरी औद्योगिक करिडोर आज विस्तारै धुवाँको राजधानी बन्दै गएको छ। उद्योगका चिम्नीहरूबाट निस्कने कालो मुस्लोले बस्ती ढाकिएका छन्, तर अझ भयावह कुरा के भने—जनताको सास फेर्ने अधिकारलाइ राजनीति स्वयंले ढाकिदिएको छ।
मोरङ–सुनसरी क्षेत्रमा दर्जनौँ उद्योग दिनरात फलाम, प्लास्टिक, धागो तथा विभिन्न रसायन गालिरहेका छन्। धुवाँसँगै रोग फैलिरहेका छन्। बालबालिकामा खोकी, वृद्धवृद्धामा दम, आखाँकाे समस्या ,युवामा एलर्जी र श्वासप्रश्वाससम्बन्धी समस्या सामान्य जस्तै भइसकेका छन्।
यी उद्योगहरूले वातावरणसम्बन्धी मापदण्ड, नियम र कानुनको खुलेआम धज्जी उडाइरहेका छन्। चिम्नीबाट धुवाँ उडाउनु मात्र होइन, जमिनमुनि ड्रिल गरी पानीको लेयरमै रासायनिक फोहोर पठाइरहेको गम्भीर आरोप स्थानीयले लगाउँदै आएका छन्। यसको असर नजिकका बस्तीमा सन्तान उत्पादनमा समस्या देखिनु, गर्भ नबस्ने र विभिन्न स्वास्थ्य जटिलता बढ्नुका रूपमा प्रकट हुँदैछ।
तर चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरूलाई यी सबै कुरा देखिँदैन। उनीहरूलाई धुवाँ देखिँदैन। उनीहरूलाई पोल्ने आँखा देखिँदैन।उनीहरूलाई घाँटी पोल्ने पीडा देखिँदैन। उनीहरूलाई पानीस्रोतमा मिसाइएका केमिकलको चाल थाहा छैन। उनीहरूलाई देखिन्छ—केवल भोट मात्र।
जनताले आन्दोलन गर्दा उद्योगले आश्वासन दिन्छ।
उद्योगले आश्वासन दिँदा सरकार मौन बस्छ।
सरकार मौन बस्दा उम्मेदवार अझै मौन बस्छन्।
यो मौनता संयोग होइन, साँठगाँठ हो।
मोरङ–सुनसरीबाट उम्मेदवारी दिएका नेताहरूले अहिलेसम्म एकपटक पनि सार्वजनिक रूपमा भनेका छैनन् “हामी प्रदूषण नियन्त्रण गर्छौं।”
“हामी उद्योगलाई कानुनको दायरामा ल्याउँछौं।
किनकि प्रदूषणको कुरा गर्दा उद्योगपति रिसाउँछन्।
उद्योगपति रिसाउँदा चुनावी खर्च घट्छ सक्छ ।
त्यसैले नेताहरू जनताको सासभन्दा चन्दा सुरक्षित राख्छन्।
यो कठोर तर सत्य यथार्थ हो।
आज यदि मतदाताले प्रश्न गरेनन् भने,
भोलि उनीहरू अस्पतालको लाइनमा उभिन बाध्य हुनेछन्। आज यदि उम्मेदवारले यसलाई एजेन्डा बनाएनन् भने,भोलि उनीहरू इतिहासमा मौन अपराधीका रूपमा चिनिनेछन्।
मोरङ–सुनसरी अब बाटो मात्र होइन, स्वास्थ्य समाज चाहन्छन् । मोरङ–सुनसरी अब जनताले पुल मात्र होइन, स्वच्छ स्वास फेर्न चाहन्छन्
मतदान दिन पार्टी मात्र नहेर्नुहोस्।
घोषणापत्र मात्र नहेर्नुहोस्। एउटै प्रश्न सोध्नुहोस्“तपाईं हाम्रो सास बचाउनुहुन्छ कि हुन्न?”
यदि जवाफ स्पष्ट छैन भने,
त्यो उम्मेदवारलाई भोट दिनु भनेको
धुवाँलाई भोट दिनु जस्तै हो।




