काठमाडौं माघ २७, निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने राजनीतिक दल तथा उम्मेदवारलाई फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गर्न निर्देशन दिएको छ।

आयोगको आज बसेको बैठकको निर्णयअनुसार, पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवार र निर्वाचनमा सहभागी सबै दलले निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ बमोजिम तोकिएको मितिभित्र घोषणापत्र बुझाउनुपर्नेछ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जारी गरिएको यस निर्देशनले दल तथा उम्मेदवारलाई आफ्नो नीति, कार्यक्रम र प्रतिबद्धता समयमै सार्वजनिक गर्न बाध्य बनाउने आयोगको विश्वास छ।

आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा उक्त निर्देशनको जानकारी दिइएको हो।