निर्वाचनमा तालमेल नगर्ने नेकपाको स्पष्ट सन्देश
२०८२ माघ २८, बुधबार १७:०२प्रचण्ड : आफ्नै बलमा संसद्को ठूलो पार्टी बन्छौँ

पोखरा, माघ २८ — नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने स्पष्ट पारेका छन्।
पोखरामा आज आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले फागुन २१ गते हुने निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने सुनिश्चित भइसकेकाले पार्टीका सबै नेता तथा कार्यकर्तालाई प्रचार–प्रसारमा सक्रिय हुन निर्देशन दिए।
संयोजक दाहालले निर्वाचन हुँदैन कि भन्ने अन्योल समाप्त भइसकेको उल्लेख गर्दै अबका तीन हप्ता पार्टीका लागि निर्णायक हुने बताए। “जेन–जी आन्दोलनपछि विकसित असाधारण राजनीतिक परिस्थितिमा हुने यो निर्वाचन नेकपाको पक्षमा ल्याउन देशभरका नेता, कार्यकर्ता र शुभेच्छुक आ–आफ्नो ठाउँबाट खटिनुपर्छ,” उनले भने, “आजैदेखि सक्रिय भएर आफ्ना उम्मेदवारलाई जिताउने अभियानमा लाग्नुस्।”
निर्वाचनको अन्तिम समयमा अन्य दलसँग तालमेल गर्ने हल्ला फैलिन सक्ने भन्दै उनले त्यस्ता भ्रममा नपर्न आग्रह गरे। “यो निर्वाचनमा कुनै पनि प्रकारको समीकरण वा तालमेल हुँदैन,” दाहालले स्पष्ट गरे, “आफ्नै खुट्टामा उभिएर जनताको विश्वास जित्दै नेकपा संसद्को सबैभन्दा ठूलो पार्टी बन्नेछ।”




