विराटनगर, २९ माघ ,कोशी प्रदेश सरकारले आजको मन्त्रिपरिषद् बैठकमा महत्वपूर्ण निर्णयहरु गरेको छ। बैठकले प्रदेश अनुसन्धान प्रशिक्षक प्रतिष्ठान ऐन, २०७९ लाई संशोधन गर्ने विधेयक कानुन, न्याय तथा प्रदेश मामिला समितिमा पेश गर्ने निर्णय गरेको छ। यसबाट ऐन संशोधन प्रक्रियालाई अघि बढाउँदै समितिमार्फत आवश्यक छलफल र परिमार्जनको बाटो खुलेको छ।

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीका अनुसार, बैठकले आयोजना छनोट तथा वर्गीकरण तथा आयोजना बैंक व्यवस्थापन कार्यविधि संशोधनको प्रस्ताव आर्थिक, सामाजिक तथा पूर्वाधार समितिमा लैजाने निर्णय पनि गरेको छ। यसले प्रदेशस्तरीय आयोजनाहरूको छनोट, प्राथमिकता निर्धारण र वर्गीकरण प्रक्रिया थप व्यवस्थित बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

साथै, मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेशबाट कार्यान्वयन हुने समग्र र विशेष अनुदानका आयोजनाहरू राष्ट्रिय योजना आयोगमा प्रविष्ट गर्ने निर्णय पनि गरेको छ। यस कदमसँगै प्रदेशका योजना र कार्यक्रमहरू संघीय योजना प्रणालीसँग समन्वयका साथ अगाडि बढ्ने तयारी भएको बताइएको छ।