सोना श्रेष्ठ महानिर्देशक नियुक्त, क्षेत्रीय विकासको कमान्ड सम्हाल्ने

काठमाडौं माघ २९, नेपाली पेशागत क्षमताको अन्तर्राष्ट्रिय पहिचानलाई थप बल पुग्नेगरी एशियाली विकास बैंक (एडीबी) को दक्षिण एसिया विभागको महानिर्देशक पदमा नेपाली नागरिक सोना श्रेष्ठ नियुक्त भएकी छन्।

मनिलास्थित एडीबी मुख्यालयले बुधबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार श्रेष्ठले अब बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकामा एडीबीका रणनीति, लगानी तथा कार्यक्रम सञ्चालनको समग्र नेतृत्व गर्नेछिन्।

नियुक्तिपछि प्रतिक्रिया दिँदै श्रेष्ठले दक्षिण एसियाको विकास यात्रामा नेतृत्वदायी भूमिका निर्वाह गर्न पाउँदा गर्व महसुस भएको बताएकी छन्। उनले सदस्य राष्ट्रहरूसँग नजिकको सहकार्य गर्दै समावेशी, लचिलो र दिगो विकासका लागि एडीबीको संलग्नता अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिन्।

विकास क्षेत्रकी अनुभवी पेशेवर श्रेष्ठसँग २७ वर्षभन्दा बढी व्यावसायिक अनुभव छ, जसमा २३ वर्ष एडीबीमै बितेको छ। यसअघि उनी दक्षिण एसिया विभागकै उपमहानिर्देशकको जिम्मेवारीमा थिइन्।

उनले एडीबीको स्वतन्त्र मूल्याङ्कन विभागकी उपमहानिर्देशक, सहायक सचिव, दक्षिण–पूर्वी एसियाका लागि वित्तीय क्षेत्र तथा व्यापार महाशाखाकी निर्देशक तथा इन्डोनेसियाकी उप–देश निर्देशकका रूपमा समेत काम गरिसकेकी छन्।

शैक्षिक रूपमा उनले अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर तथा पीएचडी र म्यासाचुसेट्सको स्मिथ कलेजबाट स्नातक उपाधि हासिल गरेकी छन्।