कांग्रेसको ‘५–५० रणनीति’ : क्रियाशील सदस्यलाई मुख्य जिम्मेवारी
२०८२ माघ २९, बिहीबार १७:१९
काठमाडौं, माघ २९ – नेपाली कांग्रेसले आफ्नो निर्वाचन रणनीतिमा क्रियाशील सदस्यलाई मुख्य स्तम्भको रूपमा राख्दै ‘५–५० रणनीति’ लागू गरेको छ। पार्टीले प्रत्येक क्रियाशील सदस्यलाई १० परिवारसँग प्रत्यक्ष सम्पर्क गरी मत जुटाउने जिम्मेवारी तोकेको छ। पाँच सदस्यको समूहले मिलेर ५० परिवारलाई प्रचार–प्रसार गर्नुपर्ने व्यवस्था छ।
परिपत्रअनुसार, स्थानीय वडा–टोलमा सक्रिय सदस्यहरूले टोली बनाएर घर–घर पुगेर मतदाता शिक्षासहित प्रचार गर्नेछन्। भातृ तथा शुभेच्छुक संस्था डिजिटल प्रचारमा सक्रिय रहँदै, ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानमा योगदान दिनेछन्।
विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूलाई पनि निर्वाचन क्षेत्र अनुसार प्रचार र समन्वयको जिम्मेवारी दिइएको छ। पार्टीले मानव बेचबिखन, जातीय विभेद, बालश्रम, घरेलु हिंसा, लागुऔषध दुर्व्यसन जस्ता सामाजिक मुद्दालाई सर्वपक्षीय रूपमा अघि सारेको छ।
बालबालिका प्रयोग नगर्ने, श्रमिक–कृषक सम्मान र मत मात्र होइन, मन जित्ने अभियान पार्टीको मूल ध्येय भएको उल्लेख छ। संविधानलाई समयानुकूल र बलियो बनाउने उद्देश्यसहित मत माग्न पनि निर्देशन दिएको छ।
अन्ततः कांग्रेसले स्वःस्फूर्त आर्थिक सहयोग मात्र स्वीकार्ने र पूर्वसैनिक, शिक्षक, प्रहरी तथा पूर्व–आप्रवासी सबैलाई अभियानमा समेट्ने नीति अघि सारेको छ।




