नेपाल मजदुर किसान पार्टीको घोषणापत्र सार्वजनिक
२०८२ फाल्गुन ३, आईतवार १९:४३भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरणदेखि नागरिकता कानुन संशोधनसम्मका कडा प्रस्ताव

काठमाडौँ फागुन ३, नारायणमान बिजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले आइतबार फागुन ३ गते आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। पार्टीले भ्रष्टाचार नियन्त्रण, राष्ट्रिय स्वाभिमान संरक्षण र जनमुखी संसद् निर्माणलाई घोषणापत्रको मुख्य आधार बनाएको छ।
घोषणापत्रमा ठूला भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गर्ने तथा उनीहरूलाई कडा सजाय हुने कानुनी व्यवस्था गर्ने प्रतिबद्धता उल्लेख गरिएको छ। साथै, सरकारी कर्मचारीहरूले तलब लुकाएर ऋण लिने तथा ऋणको साँवा–व्याज तिर्ने प्रवृत्तिलाई ‘देशघाती कार्य’ भन्दै त्यसविरुद्ध सशक्त रूपमा उत्रिने घोषणा गरिएको छ।
नेमकिपाले जन्मका आधारमा नेपाली नागरिकता पाएका विदेशी छोराछोरीलाई वंशजका आधारमा नागरिकता दिने कानुनी व्यवस्था खारेज गर्नुपर्ने अडान पनि दोहोर्याएको छ।
घोषणापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष बिजुक्छेले प्रतिनिधिसभालाई जनताका वास्तविक मुद्दामाथि छलफल हुने थलोका रूपमा विकास गर्न पहल गरिने बताए। उनले मतदातालाई घोषणापत्र राम्रोसँग अध्ययन गरेर मात्र मत दिन आग्रहसमेत गरे।
नेमकिपाको घोषणापत्रलाई कडा राष्ट्रवादी, भ्रष्टाचारविरोधी र अनुशासित शासन प्रणालीतर्फ उन्मुख दस्तावेजका रूपमा पार्टीले प्रस्तुत गरेको छ।




