निर्वाचनको घडी नजिकिँदै

काठमाडौं फागुन ४, प्रतिनिधिसभा सदस्य निर्वाचन हुन अब १७ दिन मात्र बाँकी रहँदा आजदेखि दल र उम्मेदवारहरू औपचारिक रूपमा प्रचार–प्रसारको मैदानमा उत्रिएका छन् । निर्वाचन आयोगले जुलुस, आमसभा, कोणसभा तथा सञ्चारमाध्यम र अनलाइन प्लेटफर्ममार्फत आफ्ना कार्यक्रम र एजेन्डा सार्वजनिक गर्न छुट दिएको हो ।

आयोगका अनुसार आजदेखि फागुन १८ गते राति १२ बजेसम्म प्रचार–प्रसार गर्न सकिनेछ । तर, सबै गतिविधि निर्वाचन आचारसंहिताको सीमाभित्र रहनुपर्नेछ । यही सीमाभित्र रहेर उम्मेदवारहरूले मतदातासँग प्रत्यक्ष रूपमा मत माग्न पाउनेछन् ।

आचारसंहिता उल्लंघनका घटनामा शून्य सहनशीलता अपनाइने बताउँदै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उल्लंघन पुष्टि भए चेतावनीदेखि जरिवाना र उम्मेदवारी खारेजीसम्मको कारबाही हुन सक्ने स्पष्ट पारेका छन् ।

दल तथा उम्मेदवारहरूले पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यममा विज्ञापनमार्फत पनि प्रचार गर्न पाउनेछन् । साथै, आमसभा र कोणसभामा भएको खर्च विवरण अनिवार्य रूपमा निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

आयोगले सामाजिक सञ्जाल वा अनलाइन माध्यम प्रयोग गरी मिथ्या सूचना, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्ति फैलाउन कडाइका साथ रोक लगाएको छ । स्वच्छ, मर्यादित र विश्वासयोग्य निर्वाचनका लागि सबै पक्षको जिम्मेवार भूमिका आवश्यक रहेको आयोगको जोड छ ।