विराटनगर फागुन ५ ,खाद्यतेल उद्योगमा तीव्र विस्तार गरिरहेको स्वस्तिक आयल इन्डस्ट्रिजले सन् २०२५ मा १४ अर्ब ३६ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको सार्वजनिक गरिरहँदा कम्पनीको कर पारदर्शिता र राजस्व योगदानमाथि गम्भीर प्रश्न उठ्न थालेको छ ।

कम्पनीको आम्दानी अघिल्लो वर्षको तुलनामा १३० प्रतिशतले बढेको भए पनि राज्यलाई बुझाइएको करको विवरण भने सार्वजनिक रूपमा स्पष्ट छैन । उच्च कारोबार गर्ने उद्योगले कति आयकर, भ्याट र भन्सार महसुल तिरेको हो भन्ने विषयमा न त कम्पनीले विस्तृत विवरण सार्वजनिक गरेको छ, न त सम्बन्धित निकायबाट पारदर्शी जानकारी आएको छ ।

विशेषगरी भारततर्फ निर्यात ६ अर्ब ९२ करोड रुपैयाँ पुगेको दाबी भइरहँदा निर्यातमा लाग्ने कर, प्रोत्साहन तथा भ्याट समायोजनको वास्तविक अवस्था के हो भन्नेबारे समेत जिज्ञासा बढेको छ । आर्थिक क्षेत्रका जानकारहरू भन्छन् यति ठूलो कारोबार गर्ने उद्योगमा कर परीक्षण (Tax Audit) कडाइका साथ हुनैपर्छ ।

अर्कोतर्फ कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १० अर्बभन्दा बढी ऋण लिएको जनाएको छ । ठूलो ऋण, ठूलो कारोबार र उच्च आम्दानी हुँदाहुँदै कर योगदानको विषय अस्पष्ट रहनु राज्यका लागि चिन्ताको विषय भएको विज्ञहरूको भनाइ छ ।

यदि आम्दानीको आकारअनुसार कर नतिरेको पुष्टि भएमा यसलाई गम्भीर कर छलि (Tax Evasion) को रूपमा अनुसन्धान गर्नुपर्ने उनीहरूको माग छ ।

राजस्व प्रशासनले खाद्यतेल उद्योगहरूमा व्यापक कर छानबिन अघि बढाए मात्र वास्तविक कारोबार, नाफा र राज्यको हिस्सा स्पष्ट हुने देखिन्छ ।