सुशीला कार्कीको निर्देशन : खोकनाको विवाद छाडेर द्रुतमार्ग वैकल्पिक मार्गतर्फ
२०८२ फाल्गुन ५, मंगलवार २१:१८
काठमाडौं फागुन ५, काठमाडौं–तराई-मधेस द्रुतमार्गको प्रस्थान विन्दु खोकनालाई लिएर देखिएको विवाद लम्बिँदै गएपछि प्रधानमन्त्री सुशीला कार्कीले परियोजनालाई वैकल्पिक योजनामार्फत अघि बढाउन निर्देशन दिएकी छन्
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उच्चस्तरीय छलफलमा प्रधानमन्त्री कार्कीले विवादकै कारण विकास प्रक्रिया अवरुद्ध हुन नदिन सरकार लचिलो बन्नुपर्ने धारणा राख्दै वैकल्पिक मार्गमा काम अघि बढाउन आग्रह गरिन् ।
छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, कानुनमन्त्री अनिलकुमार सिन्हा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव चौलागाईँ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठ तथा प्रधान सेनापति अशोकराज सिग्देलसहित सम्बन्धित निकायका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।
नेपाली सेनाले आयोजनाको हालसम्मको प्रगति, देखिएका चुनौती र आवश्यक सहयोगका विषयमा ब्रिफिङ प्रस्तुत गरेको थियो ।
प्रधानमन्त्री कार्कीले विकास आयोजनामा अनावश्यक ढिलासुस्ती नगर्न र विवादमा अल्झिएर नबस्न स्पष्ट निर्देशन दिँदै स्थानीय सरोकारलाई सम्मान गर्दै समाधान खोज्नुपर्ने बताइन् ।
प्रधानमन्त्रीको निर्देशनअनुसार खोकनाभन्दा करिब ३.३ किलोमिटर तल फर्सिडोल क्षेत्रमा टोल प्लाजा (शुल्क संकलन गृह) निर्माण गर्ने गरी द्रुतमार्गको डीपीआर संशोधन गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ




