भारी चुनावी विजयपछि तारिक रहमानद्वारा ५० सदस्यीय मन्त्रिपरिषद् गठन
२०८२ फाल्गुन ६, बुधबार १६:२२
ढाका फागुन ६ ,बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले भारी चुनावी विजयपछि ५० सदस्यीय मन्त्रिपरिषद् घोषणा गरेका छन् । दीर्घकालीन राजनीतिक अस्थिरता र सन् २०२४ को हिंसात्मक विद्रोहपछि अन्तरिम प्रशासनमार्फत सञ्चालन हुँदै आएको शासन व्यवस्थाबाट औपचारिक रूपमा जिम्मेवारी सम्हालेका रहमानले मङ्गलबार पदभार ग्रहणसँगै मन्त्रिपरिषद् सार्वजनिक गरेका हुन् ।
राजपत्रमा प्रकाशित सूचीअनुसार ७६ वर्षीय अमिर खसरु महमुद चौधरीलाई वित्त मन्त्रालयको जिम्मेवारी दिइएको छ । पूर्व वाणिज्य मन्त्रीसमेत रहेका चौधरीले विश्वकै दोस्रो ठूलो गार्मेन्ट निर्यातक राष्ट्रको रूपमा परिचित बंगलादेशमा लगानीकर्ताको विश्वास पुनःस्थापना गर्ने प्रमुख जिम्मेवारी पाएका छन् ।
चौधरी यसअघि प्रधानमन्त्री रहमानकी आमा तथा तीनपटककी प्रधानमन्त्री खालिदा जियाको मन्त्रिपरिषद्मा पनि सहभागी थिए । पछिल्ला वर्षहरूमा विपक्षी नेतामाथि राजनीतिक उद्देश्यले मुद्दा लगाइने आरोपहरू व्यापक थिए, जसको सन्दर्भ नयाँ सरकारका लागि चुनौतीकै रूपमा देखिन्छ ।
प्रधानमन्त्री रहमानले रक्षा मन्त्रालय आफैं सम्हाल्ने निर्णय गरेका छन् । भारतसँगको सीमा तनाव, म्यान्मामा जारी द्वन्द्व तथा बंगलादेशमा आश्रित १० लाखभन्दा बढी रोहिङ्ग्या शरणार्थीको अवस्थाबीच सुरक्षा व्यवस्थापन सरकारको प्राथमिकतामा रहने संकेत गरिएको छ ।
विदेश मन्त्रालयको जिम्मेवारी अनुभवी कूटनीतिज्ञ खलीलुर रहमानलाई दिइएको छ । संयुक्त राष्ट्रसङ्घका पूर्व अधिकारीसमेत रहेका उनले ढाका र संयुक्त राज्य अमेरिकाका विश्वविद्यालयबाट अध्ययन गरेका छन् ।
छिमेकी भारतसँगको सम्बन्ध सुधार र पाकिस्तानसँग बढ्दो सम्पर्कबीच सन्तुलन कायम गर्नु उनको मुख्य चुनौती हुनेछ । यसैबीच भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करले नयाँ सरकारलाई बधाई दिँदै द्विपक्षीय सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बुधबार प्रधानमन्त्री रहमानको अध्यक्षतामा पहिलो मन्त्रिपरिषद् बैठक बस्ने अपेक्षा गरिएको छ । नयाँ सरकारसँगै अर्थतन्त्र पुनरुत्थान, सामाजिक सद्भाव सुदृढीकरण र क्षेत्रीय सम्बन्ध सन्तुलनमा राख्ने प्रयास औपचारिक रूपमा अघि बढेको छ ।




