कांग्रेसको ‘भिजनपत्र’ : सम्मानित जीवनदेखि समृद्ध नेपालसम्मको संकल्प
२०८२ फाल्गुन ६, बुधबार १८:३६
जनकपुर फागुन ६, नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावलाई लक्षित गर्दै जनकपुरबाट आफ्नो चुनावी ‘भिजनपत्र’ सार्वजनिक गरेको छ। घोषणापत्रलाई ‘प्रतिज्ञापत्र’ नाम दिँदै कांग्रेसले देशको वर्तमान अवस्था सुधार्ने र भावी नेपालको स्पष्ट खाका प्रस्तुत गरेको दाबी गरेको हो।
कांग्रेसका अनुसार यो दस्तावेज केवल पाँच वर्षका सम्भावित लक्ष्यहरूको सूची मात्र नभई, आफूले देखेको समृद्ध, न्यायपूर्ण र सुन्दर नेपालको मार्गचित्र हो। विशेषतः जेनजी पुस्ताको भ्रष्टाचारविरोधी भावना, रोजगारीको चाहना र अवसरमुखी सोचलाई सम्बोधन गर्ने प्रयास घोषणापत्रमा गरिएको छ।
दश बुँदे प्रतिबद्धतामार्फत कांग्रेसले हरेक नेपालीको स्वतन्त्रता, पहिचान र स्वाभिमानको रक्षा गर्ने, जात, धर्म र लिङ्गका आधारमा हुने विभेद तथा हिंसाको अन्त्य गर्ने संकल्प दोहोर्याएको छ। युवालाई स्वदेशमै मर्यादित रोजगारी, प्रवासमा रहेका नेपालीको ज्ञान–पुँजीलाई स्वदेशमा उपयोग, लगानीमैत्री वातावरण र श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित गर्ने वाचा गरिएको छ।
कृषिलाई आधुनिक बनाउँदै मल, बीउ र सिँचाइको समस्या समाधान गर्ने, नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा ‘ब्रान्ड’ बनाउने र उपचारलाई नागरिकको मौलिक अधिकारका रूपमा स्थापित गर्दै उन्नत स्वास्थ्य बीमा प्रणाली लागू गर्ने योजना पनि समेटिएको छ।
शिक्षालाई राष्ट्रको दीर्घकालीन लगानी मानेर प्रिप्राइमरीदेखि विश्वविद्यालयसम्म प्रविधि र नवप्रवर्तनसँग जोड्ने, राज्य संयन्त्रमा दलीयकरण अन्त्य गर्ने तथा डिजिटल प्रविधिमार्फत भ्रष्टाचार र ढिलासुस्ती नियन्त्रण गर्ने प्रतिज्ञा गरिएको छ।
त्यसैगरी, सार्वभौमिक समानताको आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गर्दै नेपाली राहदानीको प्रतिष्ठा बढाउने, पर्यटन, ऊर्जा, आईटी र पूर्वाधारको तीव्र विकास गर्दै खुला र पर्यावरणमैत्री अर्थतन्त्र निर्माण गर्ने कांग्रेसको वाचा रहेको छ।








