डा. शेखर कोइरालाले: “राष्ट्रियता कमजोर भएको बेला हामी निर्वाचनमा”
२०८२ फाल्गुन ८, शुक्रबार १८:५४
बुढीगंगा माेरङ फागुन ८ , नेपाली काग्रेस पार्टी क्षेत्र न ६ का उम्मेदवार डाक्टर शेखर काेइरालाले देशमा राष्ट्रियता कमजोर बन्दै गएको अवस्थामा आफूहरू निर्वाचनमा होमिएको बताएका छन्।
आज मोरङको वुढीगंगा गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका उम्मेदवार डा. कोइरालाले धर्म, संस्कृति र रीतिरिवाजमाथि चुनौती बढिरहेको उल्लेख गर्दै यस अवस्थामा देशलाई सही दिशा दिन आवश्यक रहेको बताए।
उनले विगतदेखि नै भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापना र विधिको शासनअनुसार देश सञ्चालन गर्नुपर्ने विषय उठाउँदै आएको स्मरण गराए। “आर्थिक सुशासन र विकास–समृद्धि कसरी ल्याउने भन्ने विषयमा म निरन्तर लागि परेको छु,” उनले भने।
कार्यक्रममा प्राध्यापक कविराज न्याैपानेले समेत सम्बोधन गर्दै देशका हरेक संकटपूर्ण अवस्थामा सही दिशा निर्देशन दिने जिम्मेवारी नेपाली काग्रेस पार्टी भएको बताए। उनले इतिहासका विभिन्न कालखण्डमा विवेकपूर्ण निर्णय र नैतिक नेतृत्वकै कारण मुलुकले कठिन मोड पार गरेको स्मरण गराउँदै वर्तमान परिस्थिति पनि दृढ अठोट र स्पष्ट दृष्टिकोणले समाधान गर्न सक्ने नेपाली काग्रेस पार्टी रहेको धारणा राखे।
डा. कोइरालाले वुढीगंगा गाउँपालिकाको विकासप्रति पनि सन्तोष व्यक्त गरे। एउटै पालिकामा दुई वटा सरकारी अस्पताल सञ्चालनमा रहेको, शिक्षामा सुधार हुँदै गएको तथा गाउँपालिका हुँदाहुँदै पनि शहरीकरणतर्फ अग्रसर भइरहेको उदाहरण दिँदै उनले स्थानीय जनताको साथ र सहकार्यले थप विकास सम्भव हुने विश्वास व्यक्त गरे।
उनले आगामी निर्वाचनलाई देशको भविष्यसँग जोडिएको महत्वपूर्ण अवसरको रूपमा चित्रण गर्दै मतदातालाई सही निर्णय गर्न आह्वान गरे।




