शालिक विवादले तातेको तुल्सीपुर : रास्वपा गतिविधिप्रति राप्रपाको कडा आपत्ति
२०८२ फाल्गुन ९, शनिबार ०९:४१
दाङ, फागुन ८ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तुल्सीपुरस्थित वीरेन्द्र चोक मा रहेको राजा वीरेन्द्रको शालिकमाथि चढेर प्रदर्शन गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।
रास्वपा सभापति रवि लामिछाने दाङ आगमनका क्रममा केही कार्यकर्ताले शालिकमाथि चढेर प्रदर्शन गरेको भन्दै राप्रपाले उक्त कदमलाई “अभद्र र अराजकतापूर्ण” व्यवहारको संज्ञा दिएको हो।
राप्रपा लुम्बिनी प्रदेश सचिव राजेन्द्र अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ— आस्था र भावनासँग जोडिएको प्रतीकमाथि गरिने यस्तो व्यवहार सह्य नहुने उल्लेख गर्दै सम्बन्धित पक्षसँग स्पष्ट धारणा र सार्वजनिक माफी माग्न माग गरिएको छ। साथै भविष्यमा यस्ता गतिविधि नदोहोरिने प्रतिबद्धता गर्नसमेत आग्रह गरिएको छ।
राप्रपाले निर्वाचनको माहोलमा सबै दलले संयमता अपनाउनुपर्ने बताउँदै मतदाताले निर्धक्क मतदान गर्न सक्ने वातावरण बनाउन जोड दिएको छ। स्वस्थ र सम्मानजनक प्रतिस्पर्धा लोकतन्त्रको आधार भएकाले अन्य दलको भावना आहत हुने गतिविधि नगर्न पनि अपिल गरिएको छ।
यस विषयमा राप्रपाका केन्द्रीय प्रवक्ता मोहन श्रेष्ठले समेत सामाजिक सञ्जालमार्फत विज्ञप्ति सार्वजनिक गर्दै पार्टीको धारणा दोहोर्याएका छन्।
तुल्सीपुरको उक्त घटनाले चुनावी वातावरण थप तात्ने संकेत दिएको छ भने दलहरूबीच आरोप–प्रत्यारोपको क्रम बढ्ने देखिएको छ।




