मोरङ–६ मा रास्वपाले आचारसंहिता र राष्ट्रिय झण्डामाथि खुला चुनौती
२०८२ फाल्गुन ९, शनिबार २०:०१
विराटनगर फागुन ९ ,मोरङ–६ को चुनावी मैदानमा कानुनभन्दा माथि कोही छ भने त्यो राष्ट्रिय स्वतन्त्र पार्टी नै हो कि भन्ने प्रश्न उठ्न थालेको छ। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा रास्वपामाथि निर्वाचन आचारसंहिता उल्लंघन मात्र होइन, राष्ट्रिय झण्डाको अपमानसम्म गरेको गम्भीर आरोप लागेको छ।
स्वतन्त्र उम्मेदवार उत्तम दाहालले मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन आचारसंहिता अनुगमन अधिकृतसमक्ष उजुरी दर्ता गर्दै रास्वपाले खुलेआम कानुन मिचिरहेको दाबी गरेका छन्। उनका अनुसार विराटनगर–४ गणेशचोकस्थित पार्टी कार्यालयमा राखिएको प्रचार ब्यानरमा राष्ट्रिय झण्डालाई सजावटको वस्तुजस्तै प्रयोग गरिएको छ। वास्तविक झण्डालाई ब्यानरभन्दा तल राखिएको दृश्यले राष्ट्रिय प्रतीकमाथि अपमानजनक व्यवहार गरिएको स्पष्ट देखिने दाहालको भनाइ छ।
मुलुकी अपराध संहिता, २०७४ को दफा १५१ र राष्ट्रिय झण्डा तथा राष्ट्रिय गान प्रयोग सम्बन्धी कार्यविधि, २०६७ को दफा १० र ११ ले राष्ट्रिय झण्डाको दुरुपयोग र अपमानमा कडा सजायको व्यवस्था गरेको छ—३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँ जरिवाना, वा दुवै। तर चुनावी उत्साहको नाममा कानुनलाई लत्याउने प्रवृत्ति देखिएको आरोप छ।
त्यतिमात्र होइन, निर्वाचन आचारसंहिताले स्पष्ट रूपमा निषेध गरेको दलको चुनाव चिन्ह अंकित ब्याच, टोपी र टी–सर्टको खुलेआम प्रयोग भइरहेको छ। रास्वपाका उम्मेदवार र कार्यकर्ताले ‘घण्टी’ चिन्ह अंकित प्रचार सामग्री प्रदर्शन गर्दै आचारसंहितालाई चुनौती दिएको दाहालको दाबी छ।
दाहालले यसअघि फोन र वाट्सएपमार्फत अनुगमन अधिकृत सरोज कोइरालालाई जानकारी गराइसकेको र सर्वपक्षीय बैठकमा पनि विषय उठाइसकेको बताए।
अब प्रश्न उठेको छ—कानुन सबैका लागि समान हो कि होइन? यदि उल्लंघन प्रमाणित हुन्छ भने सम्बन्धित निकायले कस्तो कदम चाल्छ?
यस विषयमा रास्वपाको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन। निर्वाचन अनुगमन निकायको निर्णयले मोरङ–६ को चुनावी माहोल थप तताउने देखिएको छ।




