गौर, रौतहट फागुन ९ , गौरमा कर्फ्यू आदेश जारी गरिएर नेपाली सेना परिचालन गरिए पनि अवस्था पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। मुख्य सडकहरूमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिए पनि भित्री बस्तीहरूमा छिटफुट आगजनीका घटना भएको थियोे ।

शनिबार दिउँसो गौर नगरपालिका–४ मचकुटिया टोलमा एक स्कुटरमा आगजनी गरिएको छ। यसअघि प्रदर्शनकारीहरूले ६ वटा मोटरसाइकल र २ वटा जिपमा आगो लगाएका थिए।

तनावको सुरुवात गौर नगरपालिका–६ सनगढा क्षेत्रमा दुई समुदायबीच भएको विवादबाट भएको जनाइएको छ। मस्जिदमा प्रार्थना भइरहेका बेला बाजा बजाइएको विषयलाई लिएर सुरु भएको भनिएको विवाद झडपमा परिणत हुँदै वडा नम्बर ४, ५ र ६ सम्म फैलिएको थियो।

स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यास प्रयोग गरेको थियो। घटनामा केही व्यक्ति सामान्य घाइते भएका छन् भने केही घर तथा सवारीसाधनमा क्षति पुगेको छ।

जिल्ला प्रशासन कार्यालयले शनिबार दिउँसो १ बजेदेखि कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालका अनुसार पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्म कर्फ्यू लागू गरिएको छ।

प्रशासनले सर्वसाधारणलाई घरभित्रै बस्न र अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ। स्थानीयस्तरमा थप सुरक्षा व्यवस्था कडा बनाइएको बताइएको छ।