काठमाडौं, फागुन १० — निर्वाचन आयोग ले स्थानीय तहका जनप्रतिनिधिहरूलाई निर्वाचन आचारसंहिताविपरीत राजनीतिक दल वा उम्मेदवारको प्रचारप्रसारमा संलग्न नहुन कडा निर्देशन दिएको छ। केही जनप्रतिनिधि प्रचार अभियानमा सक्रिय भएको उजुरीपछि आयोगले गम्भीर ध्यानाकर्षण जनाएको हो।

आयोगले जारी गरेको विज्ञप्तिमा निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता, २०८२ पूर्ण रूपमा लागू गरिएको उल्लेख गर्दै सबै पक्षलाई यसको कडाइका साथ पालना गर्न आग्रह गरिएको छ।

आचारसंहिताको दफा ५ अनुसार स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहबाहेक अन्य स्थानीय तहमा मात्र सम्बन्धित दलको प्रचारप्रसारमा सहभागी हुन सक्ने व्यवस्था छ। तर, त्यस क्रममा कुनै पनि सरकारी स्रोत–साधनको प्रयोग गर्न नपाइने स्पष्ट गरिएको छ।

आयोगले विशेष रूपमा आफू कार्यरत स्थानीय तहभित्र कुनै पनि दल वा उम्मेदवारको प्रचारमा प्रत्यक्ष संलग्न नहुन चेतावनी दिएको छ। पदको मर्यादा, तटस्थता र कानुनी दायित्वलाई ख्याल गर्दै आचारसंहिताविपरीत गतिविधिमा नलाग्न सबै जनप्रतिनिधिलाई निर्देशन दिइएको छ।

आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आचारसंहिता उल्लंघन गरे कानुनी कारबाही हुनेछ।