सीमा छेउको सहरमा सतर्कता: वीरगन्जमा अनिश्चितकालीन कर्फ्यू
२०८२ फाल्गुन ११, सोमबार १४:३६
विरगंज फागुन ११,नेपाल–भारत सीमासँग जोडिएको वीरगन्ज सहर सोमवार बिहानैदेखि कडा सुरक्षा घेराभित्र छ। सम्भावित साम्प्रदायिक तनावलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले बिहान ९:४५ बजेदेखि अर्को सूचना नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्सा का सूचना अधिकारीका अनुसार हालसम्म एक जनालाई नियन्त्रणमा लिइएको छ, तर उनी कुन पक्षसँग सम्बन्धित छन् भन्ने खुलाइएको छैन। कर्फ्यू लागू भएसँगै नेपाली सेना सडकमा परिचालित गरिएको छ र मुख्य चोक–गल्लीहरू खाली गराउँदै गस्ती तीव्र बनाइएको छ।
जिल्ला प्रशासन कार्यालय पर्सा ले जारी गरेको सूचनामा पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शङ्कराचार्य गेटलाई चार किल्ला तोकी आवतजावत पूर्णरूपमा निषेध गरिएको उल्लेख छ। तोकिएको क्षेत्रभित्र सर्वसाधारणलाई सडकमा निस्किन नदिइएको र सुरक्षाकर्मीले निरन्तर निगरानी गरिरहेको जनाइएको छ।
यसअघि रौतहटमा विवाह समारोहसँग जोडिएको विवादका कारण दुई समुदायबीच तनाव बढेपछि सप्ताहान्तमा कर्फ्यू लगाइएको थियो। तर पर्साका अधिकारीहरूले पछिल्लो वीरगन्ज घटनासँग रौतहटको अवस्थाको प्रत्यक्ष सम्बन्ध नरहेको स्पष्ट पारेका छन्।
निर्वाचन सुरक्षालाई लक्षित गर्दै केही साताअघि देखि नै सुरक्षाकर्मीको गस्ती बढाइएको थियो। ताजा घटनापछि भने सुरक्षा व्यवस्थालाई अझ कडा पारिएको छ। प्रशासनले सर्वसाधारणलाई शान्त रहन र आधिकारिक सूचनामात्र अनुसरण गर्न आग्रह गरेको छ।




