निर्वाचन सुरक्षामा आयोगको कडा निर्देशन : गृहलाई सात बुँदे पत्र
२०८२ फाल्गुन १३, बुधबार २२:४९
काठमाडौं फागुन १३ निर्वाचन आयोग ले फागुन २१ मा तय प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन गृह मन्त्रालय लाई सात बुँदे निर्देशनसहित पत्र पठाएको छ।
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले सुरक्षा योजनाको समीक्षा, वर्तमान सुरक्षा अवस्थाको मूल्यांकन तथा आवश्यक मार्गदर्शनका आधारमा मन्त्रालयलाई ठोस व्यवस्था मिलाउन आग्रह गरेको हो।
आयोगले फागुन १८ गते राति १२ बजेदेखि लागू हुने प्रचारप्रसार निषेध अवधिमा आचारसंहिता पूर्णरूपमा पालना गराउन सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई स्पष्ट निर्देशन दिन भनेको छ।
त्यस्तै, जिल्ला आचारसंहिता अनुगमन समितिमार्फत तोकिएका संयन्त्र परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०८२ का दफा १७ र १८ विपरीतका गतिविधि हुन नदिन र उल्लंघन भए तुरुन्त कारबाही गरी आयोगलाई जानकारी गराउन पनि आग्रह गरिएको छ।
यसैगरी, मतदानको सात दिनअघि देखि अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थको बिक्री–वितरण र सेवनमा रोक लगाउने विषयसमेत मन्त्रालयलाई लेखी पठाइएको आयोगले जनाएको छ।
आयोगले निर्वाचनलाई शान्तिपूर्ण र विश्वसनीय बनाउन सुरक्षा व्यवस्थामा कुनै कमी हुन नदिन विशेष जोड दिएको छ।




