चुनावी माहोलबीच सिंगापुर प्रस्थान गरे देउवा
२०८२ फाल्गुन १४, बिहीबार ०९:४३
काठमाडौं फागुन १४, नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्। बुधबार राति ११ः३० बजे सिंगापुर एयरलाइन्समार्फत उनी त्यसतर्फ उडेका हुन्। विमानस्थल स्रोतका अनुसार राति साढे १० बजे अन्तर्राष्ट्रिय टर्मिनलको स्टेरलाइज क्षेत्रमा उनी केही सहयोगीहरूसँग देखिएका थिए।
विशेष महाधिवेशनपछि पार्टी नेतृत्वबाट बाहिरिएका देउवा यसपटकको प्रतिनिधिसभा निर्वाचन प्रक्रियाबाट टाढा रहेका छन्। सभापति पद गुमाएपछि उनले निर्वाचन आयोग र अदालतमार्फत आधिकारिकताको प्रयास गरेका थिए, तर अपेक्षित परिणाम नआएपछि उनी सक्रिय चुनावी मैदानमा देखिएनन्।
पार्टीभित्र ‘बदलिएको कांग्रेस’को अभियान चलिरहेका बेला देउवालाई उम्मेदवारहरूको समर्थनमा उत्रिन आग्रह गरिए पनि उनले सार्वजनिक रूपमा कुनै अभियान नचलाउने अडान राखेका थिए। कांग्रेस प्रवक्ताले उनलाई चुनावी अभियानमा जोड्ने प्रयास भइरहेको बताएका थिए, तर देउवा निकट स्रोतले भने उनी मौन बस्ने निर्णयमै अडिग रहेको जनाएको छ।
डडेलधुराबाट २०४८ सालदेखि लगातार सात पटक विजयी हुँदै आएका देउवा यसपटक उम्मेदवार बनेनन्। उनको स्थानमा युवा नेता नैनसिंह महरले टिकट पाएका छन्। यसैबीच, देउवा मतदानका लागि गृहजिल्ला नजाने चर्चा समेत सार्वजनिक भएको छ।
यसरी निर्वाचनको संघारमा देउवाको सिंगापुर यात्रा राजनीतिक वृत्तमा चासोको विषय बनेको छ।




