काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नाममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाइएको भनिएको पत्र सामाजिक सञ्जालमा भाइरल भएपछि राजनीतिक तरंग पैदा भएको छ।

भाइरल पत्रमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहको हस्ताक्षर रहेको दाबी गरिएको छ। पत्रमा नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउने प्रतिबद्धता, भारतको ७७औँ स्वतन्त्रता दिवसको शुभकामना, तथा आगामी फागुन २१ (मार्च ५) मा हुने आमनिर्वाचन सन्दर्भमा भारतको आर्थिक, भौतिक र राजनीतिक सहयोगप्रति कृतज्ञता व्यक्त गरिएको उल्लेख छ।

त्यसैगरी, नेपाल–भारत सीमा विवाद संवादमार्फत समाधान गर्नुपर्ने धारणा, सुशासनका लागि कानुनी तथा संवैधानिक सुधार, संघीय संरचनाको समीक्षा, पूर्वाधार विकास, औद्योगिकीकरण, कृषि, पर्यटन र जलविद्युत क्षेत्रमा सहकार्यको अपेक्षा पनि पत्रमा समेटिएको भनिएको छ।

तर, रास्वपाले उक्त पत्रलाई पूर्ण रूपमा अस्वीकार गरेको छ।

रास्वपाका विदेश विभाग प्रमुख शिशिर खनालले उक्त पत्र आधिकारिक नभएको स्पष्ट पारे। “त्यो पत्र झुटो हो, पार्टीको आधिकारिक धारणा होइन,” उनले प्रतिक्रिया दिए।

यता काठमाडौंस्थित भारतीय दूतावासका एक अधिकारीले पनि सो प्रकृतिको कुनै पत्राचार नभएको बताएका छन्। उनका अनुसार भाइरल सामग्री ‘फेक’ हो।

घटनापछि सामाजिक सञ्जालमा तीव्र बहस सुरु भएको छ। चुनावी माहोलमा यस्ता सामग्री सार्वजनिक हुनुका पछाडि नियोजित दुष्प्रचार हुन सक्ने आशंका समेत व्यक्त गरिएको छ।