काठमाडौं उपत्यकामा महिला निर्वाचन अधिकृतको वर्चस्व
२०८२ फाल्गुन १६, शनिबार ०८:२११५ मध्ये १२ क्षेत्रमा महिला अधिकृत, देशभर २१ क्षेत्रमा महिला नेतृत्व

विराटपाटी अनलाइन | काठमाडौं, १६ फागुन
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं उपत्यकामा महिला निर्वाचन अधिकृतको उल्लेख्य उपस्थिति देखिएको छ। तीन जिल्ला समेटिएको उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये १२ क्षेत्रमा महिला निर्वाचन अधिकृत खटिएका छन्।
निर्वाचन आयोगका अनुसार देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १८ जना महिला निर्वाचन अधिकृत र ३ जना महिला मुख्य निर्वाचन अधिकृत रहेका छन्। तीमध्ये १२ जना काठमाडौं, ललितपुर र भक्तपुरमै कार्यरत छन्।
उपत्यकामा को–को छन्?
भक्तपुरका मुख्य निर्वाचन अधिकृत नवराज दाहाल हुन् भने भक्तपुर–२ मा राधिका सुवाल निर्वाचन अधिकृत छन्।
ललितपुरमा पुनाराम खनाल मुख्य निर्वाचन अधिकृत छन्। ललितपुर–१ मा इशा सुवेदी र ललितपुर–२ मा सम्झना सिम्खडा पुडासैनी निर्वाचन अधिकृत छन्।
काठमाडौंमा चुरामन खड्का मुख्य निर्वाचन अधिकृत रहेका छन्। काठमाडौंका बाँकी ९ वटै क्षेत्रमा महिला निर्वाचन अधिकृत खटिएका छन्।
नियुक्ति प्रक्रिया
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०६४ अनुसार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गर्ने अधिकार निर्वाचन आयोगलाई छ। आयोगले न्याय परिषद् र न्याय सेवा आयोगको परामर्शमा नाम सिफारिस गराई अन्तिम निर्णय गर्छ।
जिम्मेवारी के–के?
निर्वाचन अधिकृतको जिम्मेवारी उम्मेदवारी दर्तादेखि मतपरिणाम घोषणा र निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र वितरणसम्म फैलिएको हुन्छ।
उम्मेदवारी जाँच, दाबी–विरोधको निर्णय, आचारसंहिता अनुगमन, मतदान केन्द्र व्यवस्थापन र मतगणना प्रक्रिया उनीहरूकै जिम्मामा हुन्छ।
यसपटकको निर्वाचनमा महिला नेतृत्वको यो उपस्थिति प्रशासनिक क्षेत्रमा लैंगिक समावेशिताको सकारात्मक संकेतका रूपमा हेरिएको छ।




