फागुन १७, मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण विभिन्न अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका नेपाली नागरिकलाई तत्काल उद्धार गर्न नसकिने अवस्था देखिएपछि सरकारले उनीहरूलाई अस्थायी रूपमा ‘जहाँ छन्, त्यहीँ सुरक्षित’ राख्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले हालका लागि सबै उडान तथा विमानस्थल सञ्चालन बन्द भएकाले यात्रुहरूलाई न त गन्तव्यमा पठाउन सकिने, न त स्वदेश फर्काउन सकिने निष्कर्ष निकालेको हो।

बैठकपछि जानकारी दिँदै परराष्ट्रमन्त्री बालानन्द शर्माले स्थिति सामान्य नभएको स्पष्ट पार्दै सम्बन्धित देशका नेपाली दूतावासहरूलाई उच्च सतर्कतामा रहन निर्देशन दिइएको बताए। उनका अनुसार ट्रान्जिटमा परेका नेपाली यात्रुहरूको अवस्थाबारे निरन्तर अनुगमन भइरहेको छ।

सरकारले सम्बन्धित मुलुकका राजदूतसँग समन्वय गरी गन्तव्यतर्फ जान सक्नेहरूलाई आवश्यक सहजीकरण गर्ने र जान नसक्नेहरूलाई होटलमा बसोबासको व्यवस्था मिलाउने काम अघि बढाएको जनाएको छ। यसका लागि सम्बन्धित एयरलाइन्स र कम्पनीहरूसँग पनि सहकार्य भइरहेको मन्त्री शर्माको भनाइ छ।

यसैबीच, प्रभावित क्षेत्रका लागि सरकारले औपचारिक ट्राभल एडभाइजरीसमेत जारी गरेको छ। सरकारले नेपाली नागरिकलाई अनावश्यक यात्रा नगर्न र दूतावाससँग सम्पर्कमा रहन आग्रह गरेको छ।

सरकारले परिस्थितिको निरन्तर मूल्याङ्कन गर्दै आवश्यक परे थप निर्णय लिने जनाएको छ।