नेपाली कांग्रेसमा बीपी समूहको औपचारिक विलय, संगठन थप सशक्त
२०८२ फाल्गुन १८, सोमबार ०८:४३
काठमाडौं । लामो समयदेखि अलग धारमा रहेको नेपाली कांग्रेस (बी.पी.) अन्ततः मूलधारमा फर्किएको छ। आइतबार राजधानीमा आयोजित चुनावी सभामार्फत उक्त पार्टी नेपाली कांग्रेस मा औपचारिक रूपमा विलय भएको घोषणा गरिएको हो।
दुई दलबीच भएको सहमतिपत्रमा गगन कुमार थापा र सुशीलमान शेरचन ले हस्ताक्षर गरेका छन्। सहमतिअनुसार नेपाली कांग्रेस (बी.पी.) का सम्पूर्ण संरचना, सदस्यता तथा संगठनिक निकायहरू अब मूल पार्टीमै समायोजन हुनेछन्।
वक्तव्यमा परिवर्तन, लोकतन्त्रको सुदृढीकरण, राष्ट्रिय एकता तथा जनअधिकारको संरक्षणलाई केन्द्रमा राख्दै आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्ष्य गरी एकीकरणको निर्णय गरिएको उल्लेख छ। साथै ‘बदलियो कांग्रेस, बदल्छौँ देश’ भन्ने अभियानलाई थप प्रभावकारी बनाउन यो कदम चालिएको जनाइएको छ।
एकीकरणपछि कांग्रेस झन् संगठित र बलियो बनेको दाबी नेताहरूले गरेका छन्। संगठनात्मक समायोजनका बाँकी प्रक्रियाहरू केन्द्रीय कार्यसमितिको निर्णयअनुसार अघि बढाइने जनाइएको छ।




