चुनावका दिन होटल खुल्ने, तर मदिरा बिक्रीमा कडाइ
२०८२ फाल्गुन १८, सोमबार १४:०५
काठमाडौं फागुन १८ ,फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन देशभरका होटल, रेष्टुरेण्ट र पार्टी प्यालेस सञ्चालनमा रोक नलाग्ने भएको छ। केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले धार्मिक, सामाजिक तथा पूर्वनिर्धारित कार्यक्रमलाई ध्यानमा राख्दै यस्ता व्यवसाय पूर्ण रूपमा बन्द नगरिने स्पष्ट पारे।
तर, निर्वाचन आचारसंहिता लागू भइसकेकाले मदिरा तथा अन्य नशालु पदार्थको बिक्री–वितरणमा भने कडा प्रतिबन्ध लगाइएको छ। यस्तो कार्य गरेको पाइए सम्बन्धित सञ्चालक र व्यवस्थापकलाई कानुनअनुसार कारबाही गरिने चेतावनी प्रहरीले दिएको छ।
प्रहरीका अनुसार फागुन १५ गते रातिदेखि लागू भएको आचारसंहिताको कार्यान्वयनका लागि देशभरका प्रहरी युनिट सक्रिय छन्। मदिरा पसल तथा मदिरा बिक्री हुने अन्य पसल सञ्चालन गर्न नपाइने जनाइएको छ। साथै, मादक पदार्थ सेवन गरेर सार्वजनिक स्थलमा हिँडडुल गर्न समेत रोक लगाइएको छ।
होली पर्व मनाउन सामाजिक तथा सांस्कृतिक रूपमा कुनै अवरोध नरहे पनि भीडभाड, ठूलो जमघट, स्टेज कार्यक्रम तथा भाषणजस्ता गतिविधिमा भने निषेध गरिएको छ।
प्रहरीले निर्वाचनलाई स्वच्छ, शान्त र मर्यादित बनाउन सबैलाई सहयोग गर्न अपिल गरेको छ।




