विराटनगर  फागुन १९ — कोसी प्रदेशभर सुरक्षा सतर्कता कडा बनाइएको छ। मोरङको विराटनगर र ताप्लेजुङमा फेला परेका शंकास्पद वस्तु नेपाली सेनाले सुरक्षित रूपमा निष्क्रिय पारेको जनाएको छ।

विराटनगर महानगरपालिका–७ डाँफेचोक क्षेत्रमा भेटिएको वस्तु निष्क्रिय पार्न विमानस्थलमा तैनाथ बम डिस्पोजल टोलीसहितको फौज परिचालन गरिएको थियो। त्यस्तै, ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–३ स्थित भित्री कच्ची सडकखण्डमा फेला परेको शंकास्पद वस्तु हाङपाङ सुरक्षा बेसमा तैनाथ टोलीले निष्क्रिय पारेको हो।

नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर, इटहरीका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रदेशका सबै जिल्लामा करिब १२० स्थानमा बम डिस्पोजल टोली तैनाथ गरिएको छ।

पृतनाले सर्वसाधारणलाई कुनै पनि शंकास्पद वस्तु देखिएमा नछुने र तुरुन्तै नजिकैको सुरक्षा निकायलाई खबर गर्न आग्रह गरेको छ।

 प्रदेशभर सुरक्षा संयन्त्र सक्रिय अवस्थामा रहेको जनाइएको छ।