मतपेटिका साटिने हल्ला निराधार : आयोगको स्पष्ट सन्देश
२०८२ फाल्गुन २०, बुधबार १६:४४
काठमाडौं, फागुन २० — निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतपेटिका साटिने भन्दै फैलाइएका हल्लाहरू पूर्णतः भ्रामक र आधारहीन भएको स्पष्ट पारेका छन्।
बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले मतपेटिकाको सुरक्षामा कुनै पनि सम्झौता नहुने दोहोर्याउँदै परम्परागत तीन तहको सुरक्षा व्यवस्था यथावत् रहने जानकारी दिए। बाहिरी घेरामा नेपाली सेना, बीचमा सशस्त्र प्रहरी बल र भित्री घेरामा नेपाल प्रहरी रहने व्यवस्था कायम छ।
मतदान सकिएपछि दल र उम्मेदवारका प्रतिनिधिको रोहवरमा मतपेटिका सिल गरिने, उनीहरूको आफ्नै चिन्हसहित लाहाछाप लगाइने र मुचुल्का तयार गरेपछि मात्र गणना सुरु हुने प्रक्रिया रहेको उनले स्पष्ट पारे।
“हेलिकोप्टरमा हालेर मतपेटिका साटिन्छ भन्ने कुरा किञ्चित सत्य होइन,” भण्डारीले भने, “गणनाअघि प्रतिनिधिहरूले आफ्नो लाहाछाप जाँच गरेपछि मात्रै प्रक्रिया अगाडि बढ्छ, त्यसैले अनावश्यक शंका नगर्नुहोस्।”
दुर्गम क्षेत्रबाट मतपेटिका सुरक्षित ढुवानीका लागि सेनाको भरपर्दो हेलिकोप्टर प्रयोग गरिने भए पनि ‘छुट्टै मतपेटिका ल्याइन्छ’ भन्ने हल्लामा विश्वास नगर्न आयोगले सबैलाई आग्रह गरेको छ।




