कटारी फागुन २१,उदयपुरको कटारीस्थित एक मतदान केन्द्रमा अचम्मको घटना भएको छ। मतदान सुरु भएको केहीबेरमै केवल चार मत मात्र खसेको मतपेटिका अचानक गोली लागेर क्षतिग्रस्त भयो।

प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीका अनुसार प्रहरी जवानले बोकेको हतियार असावधानीवश अचानक पड्किँदा गोली सिधै मतपेटिकामा लागेको थियो।

घटनापछि केही समय मतदान प्रभावित भए पनि अहिले स्थिति सामान्य भइसकेको छ। क्षतिग्रस्त मतपेटिका हटाएर अर्को मतपेटिकाबाट मतदान प्रक्रिया पुनः सुरु गरिएको प्रशासनले जनाएको छ।
यस घटनाले मतदान केन्द्रमा सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ भने प्रशासनले यसलाई ‘दुर्घटना’ भन्दै थप अनुसन्धान हुने बताएको छ।