काठमाडौँ, २३ फागुन । प्रतिनिधिसभा निर्वाचनको हालसम्मको मतपरिणाम अनुसार नेपाली कांग्रेसले पाँच निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ। समग्र परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २० सिट जित्दै अग्रता बनाएको छ भने नेकपा एमालेले एक सिटमा मात्र सफलता पाएको छ। त्यस्तै नेकपाले दुई स्थानमा विजय प्राप्त गरेको छ।

कांग्रेसका तर्फबाट दैलेख–१ मा बासना थापा १२ हजार ३७२ मतसहित विजयी भएकी छन्। मनाङमा टेकबहादुर गुरुङ २ हजार ४१५ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। मुस्ताङमा योगेश गौचन थकालीले ३ हजार ३०७ मत ल्याएर जित हात पारेका छन्।

यस्तै रसुवामा मोहन आचार्य १० हजार ६५६ मतसहित विजयी भएका छन् भने तेह्रथुममा सन्तोष सुब्बाले ११ हजार ५६१ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

यससँगै हालसम्मको मतपरिणामले प्रतिनिधिसभामा विभिन्न दलहरूको प्रतिस्पर्धात्मक उपस्थिति देखिएको छ।