काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रणालीतर्फ मतगणना तीव्र रूपमा जारी रहँदा हालसम्म ७८ लाख ८५ हजार २९१ मत गणना भइसकेको छ। प्राप्त विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्पष्ट अग्रस्थानमा देखिएको छ।

निर्वाचन आयोगका अनुसार आज बिहान साढे १० बजेसम्म रास्वपाले ३८ लाख ११ हजार १९६ मत प्राप्त गरेको छ। दोस्रो स्थानमा नेपाली कांग्रेसले १२ लाख ८४ हजार ३८ मत पाएको छ भने नेकपा (एमाले) १० लाख ८६ हजार ४४९ मतसहित तेस्रो स्थानमा छ

त्यस्तै, नेकपा (एकीकृत) ले ५ लाख ६१ हजार ६६०, राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ६६ हजार ९६३ र श्रम संस्कृति पार्टीले २ लाख ६२ हजार ५९९ मत प्राप्त गरेका छन्।

निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फको मतगणना भोलिसम्म सम्पन्न हुने अपेक्षा गरिएको छ। मतगणना सकिएपछि थ्रेसहोल्ड (न्यूनतम मत प्रतिशत) पार गरेका राजनीतिक दलहरूले पाएको मतको आधारमा उनीहरूले पाउने सांसद संख्या निर्धारण गरिनेछ।

त्यसपछि आयोगले सम्बन्धित दललाई पत्र पठाएर उनीहरूको बन्दसूची (Closed List) भित्रबाट आवश्यक संख्यामा उम्मेदवारको नाम सिफारिस गर्न आग्रह गर्नेछ। दलहरूले पठाएको नाम समावेशी क्लस्टर (महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, पिछडिएको क्षेत्र आदि) अनुसार मिलेको/नमिलेको जाँच गरी अन्तिम रूपमा समानुपातिक सांसदको नाम घोषणा गरिनेछ।

निर्वाचन आयोगले चैत ५ गतेभित्र समानुपातिकतर्फका सबै प्रक्रिया पूरा गर्ने लक्ष्य राखेको जनाएको छ।