विराटनगर, मोरङ क्षेत्र नं. ६ की नवनिर्वाचित सांसद रुबिना आचार्यले जेन्जी आन्दोलनका सहिदप्रति दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। 

तर यही क्षेत्रमा रहेका जेन्जी आन्दोलनका क्रममा अग्रपंक्तिमा उभिएर संघर्ष गरेका शन्तनु ढकाललाई भने अपेक्षाकृत रूपमा बेवास्ता गरिएको भन्दै स्थानीय स्तरमा चासो व्यक्त हुन थालेको छ। आन्दोलनका क्रममा सक्रिय भूमिका खेलेका ढकाललाई धेरैले “जिउँदो सहिद” जस्तै संघर्षशील पात्रका रूपमा स्मरण गर्ने गरेका छन्।

स्थानीयले इतिहासले आन्दोलनका लागि रगत बगाउने पात्रहरूलाई सम्झनुपर्ने भए पनि वर्तमानले कहिलेकाहीँ प्रचार र औपचारिक कार्यक्रममा मात्रै सीमित हुने गरेको टिप्पणी गरेका छन्। सहिदका नाममा दीप प्रज्वलन गरिए पनि संघर्षका जीवित पात्रहरूलाई पनि उचित सम्मान दिनुपर्ने आवाज उठ्न थालेको हो।

रूटिन अफ विराटनगर लगायत समाजका विभिन्न व्यक्तिहरूले जेन्जी आन्दोलनमा योगदान दिएका शन्तनु ढकालजस्ता पात्रहरूलाई पनि औपचारिक रूपमा सम्मान गर्ने अवसर सिर्जना गर्न सरोकारवाला पक्षलाई आग्रह गरेका छन्।

उनीहरूका अनुसार इतिहासका कागजमा नाम नआए पनि जनताको स्मृतिमा यस्ता संघर्षशील पात्रहरू सधैं जीवित रहने विश्वास गरिएको छ।