प्रधानन्यायाधीश बन्न ६ न्यायाधीशको दौड, राउत अवकाशतिर
२०८२ फाल्गुन २६, मंगलवार २१:५२
काठमाडौं, सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेरहदका कारण अवकाश नजिकिएसँगै भावी प्रधानन्यायाधीशको खोजी प्रक्रिया अघि बढेको छ।
न्यायपरिषद्ले सर्वोच्च अदालतका ६ जना न्यायाधीशको नाम प्रधानन्यायाधीश पदका लागि सिफारिस गरेको छ। सिफारिसमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीशहरू कुमार रेग्मी, हरि फुँयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठ रहेका छन्।
संवैधानिक व्यवस्थाअनुसार सर्वोच्च अदालतमा कम्तीमा तीन वर्ष कार्यअनुभव भएका न्यायाधीशहरू प्रधानन्यायाधीश बन्न योग्य मानिन्छन्।
हालका प्रधानन्यायाधीश राउत ६५ वर्षको उमेरहदका कारण अवकाशमा जान लागेका हुन्। नियमअनुसार प्रधानन्यायाधीश अवकाशमा जानुभन्दा करिब एक महिना अघि नै नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ।
तर प्रतिनिधिसभा निर्वाचन भर्खरै सम्पन्न भएकाले संवैधानिक परिषद्ले अझै पूर्णता पाएको छैन। सभामुख, उपसभामुख र प्रमुख विपक्षी दलका नेताको टुंगो नलागेकाले परिषद् पूर्ण रूपमा गठन हुन बाँकी छ।
संवैधानिक परिषद्ले सिफारिस गरेको प्रस्तावित प्रधानन्यायाधीश संसदीय सुनुवाइबाट अनुमोदन भएपछि मात्र औपचारिक नियुक्ति हुने संवैधानिक प्रावधान रहेको छ।




