काठमाडौं — नेपालको पहल र प्रस्तावमा पहिलोपटक विश्वस्तरमा अन्तर्राष्ट्रिय दिवस घोषणा भएको छ। संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा मनाउने प्रस्ताव पारित गरेको हो।

परराष्ट्र मन्त्रालयका संयुक्त राष्ट्रसंघ महाशाखा प्रमुख कृष्णप्रसाद ढकालका अनुसार, नेपालको प्रस्तावमा कुनै पनि अन्तर्राष्ट्रिय दिवस घोषणा भएको यो इतिहासमै पहिलो घटना हो।

नेपालले अघि सारेको प्रस्तावलाई भारत, चीनसहित करिब ४० देशले सहप्रायोजन गरेका थिए, जसले यसलाई अभूतपूर्व समर्थन दिएको मन्त्रालयको भनाइ छ।

अबदेखि हरेक वर्ष अप्रिल १५ मा नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइनेछ। परराष्ट्र मन्त्रालयका अनुसार यो कदमले विश्वमञ्चमा नेपालको पहिचान र कूटनीतिक प्रभावलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले यसलाई नेपालको ‘सफ्ट पावर’ प्रयोग गर्दै अन्तर्राष्ट्रिय छवि उकास्ने महत्वपूर्ण उपलब्धि बताएका छन्। उनका अनुसार आरोग्य दिवसले समावेशी स्वास्थ्य प्रणाली, मानसिक र शारीरिक सन्तुलन तथा स्वस्थ समाज निर्माणको सन्देश दिनेछ।

सरकारले यस अवसरलाई उपयोग गर्दै नेपाललाई आरोग्यता र वेलनेस पर्यटनको अन्तर्राष्ट्रिय केन्द्र बनाउने सम्भावना पनि देखेको छ।