सात महिनामा १२ खर्ब रेमिटेन्स : वैदेशिक रोजगारी बढेसँगै पैसाको ओइरो
२०८२ फाल्गुन २७, बुधबार २२:०८
काठमाडौं — चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि माघसम्म नेपालमा भित्रिने रेमिटेन्स रकम १२ खर्ब रुपैयाँ नाघेको छ।
माघ महिनामा मात्रै एक खर्ब ९८ अर्ब रुपैयाँ रेमिटेन्स आएको छ। गत आर्थिक वर्ष २०८१/८२ को यही अवधिमा भने जम्मा नौ खर्ब एक अर्ब रुपैयाँ मात्रै रेमिटेन्स आएको थियो। यस आधारमा हेर्दा यस वर्ष रेमिटेन्स करिब ३९ प्रतिशतले बढेको देखिन्छ।
पछिल्ला साढे दुई वर्षदेखि नेपालमा प्रत्येक महिना एक खर्ब रुपैयाँभन्दा बढी रेमिटेन्स भित्रिने क्रम जारी छ।
यता सात महिनामा सात अर्ब ७८ करोड रुपैयाँ रेमिटेन्स बाहिरिएको छ। गत वर्ष यही अवधिमा पाँच अर्ब २८ करोड रुपैयाँ मात्रै बाहिरिएको थियो।
यस अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या पनि बढेको छ। गत आर्थिक वर्षको यही समयमा चार लाख ६५ हजार जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका थिए भने यस वर्ष यो संख्या बढेर चार लाख ७२ हजार पुगेको छ।
यसले वैदेशिक रोजगारीतर्फ जाने नेपालीको संख्या बढेसँगै देशभित्र भित्रिने रेमिटेन्स पनि तीव्र रूपमा बढिरहेको संकेत गरेको छ।




