मोरङको बुढीगंगा गाउँपालिका–१ टंकिसिनवारीस्थित मुक्ति आश्रम केन्द्र सिघिंया नदीबाट भइरहेको अनियन्त्रित तथा अवैध उत्खननका कारण जोखिममा परेको छ। नदीबाट निरन्तर रूपमा माटो–बालुवा निकालिँदा आश्रम परिसरमा रहेको भगवान् शिवको विशाल मूर्ति र केन्द्रले निर्माण गरेको दुईतले भवनमा समेत क्षति पुगेको बताइएको छ।

यही अवस्थाले गहिरो चिन्ता र पीडा सिर्जना भएपछि मुक्ति आश्रम केन्द्रका अध्यक्ष चन्द्रेश्वर न्यौपानेले पदबाट राजीनामा दिएका छन्। फागुन २९ गते मिति राखेर दिएको राजीनामा पत्रमा उनले सिघिंया नदीबाट भइरहेको अवैध उत्खननका कारण आश्रम क्षेत्र मात्र नभई नदीको पुलसम्म असर पुगेको उल्लेख गरेका छन्।

यस्तो गम्भीर अवस्थालाई रोक्न सम्बन्धित निकायबाट प्रभावकारी कदम नचालिएकोप्रति असन्तुष्टि जनाउँदै उनले “आफ्नै आँखाअगाडि धार्मिक संरचना र आश्रममा क्षति हुँदै गएको देख्दा पदमा बसिरहनु उपयुक्त लागेन” भन्दै राजीनामा दिएको जनाएका छन्।

उनले मुक्ति आश्रम केन्द्रको कार्यसमितिको अध्यक्ष पदबाट दिएको राजीनामा स्वीकृत गरिदिन अनुरोध गरेका छन्। उक्त पत्रको बोधार्थ बुढीगंगा गाउँपालिकालाई समेत पठाइएको छ।

स्थानीयले भने सिघियां नदीबाट भइरहेको अवैध उत्खनन तत्काल रोक्न र आश्रमसहित आसपासका संरचना जोगाउन सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने माग गरेका छन्।