तनहुँ – मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत दमौली बजारमा निर्माण भइरहेको चार लेनको आधुनिक पुलको काम तीव्र गतिमा अघि बढेको छ। व्यास नगरपालिका–४ र ५ जोड्ने गरी मादी नदीमाथि निर्माणाधीन पुलको हालसम्म ७७ प्रतिशत काम सम्पन्न भएको छ।

मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर तथा सूचना अधिकारी विष्णुप्रसाद पाण्डेका अनुसार पुलको दुवैतर्फको फाउण्डेशन निर्माण सम्पन्न भइसकेको छ भने अहिले आर्क डिजाइनको संरचना बनाउने काम भइरहेको छ।

यो पुल ३१५ मिटर लम्बाइ र २३ मिटर चौडाइको हुनेछ, जसमा छ वटा स्पान रहनेछन्। पुलको वारिपारीका दुई–दुई प्रिस्टेटस् बक्स गडर स्पान पूरा भइसकेका छन् भने बीचका दुई स्पान कङ्क्रिट नेचर आर्क ब्रिजका रूपमा निर्माण भइरहेका छन्।

पुल एकै मोनोलेथिक संरचनामा २३ मिटर चौडाइको हुने भएकाले यसलाई नेपालकै पहिलो किसिमको पुल मानिएको पाण्डेले बताए।

यो परियोजनाको निर्माण २०७९ साउन २६ गते अन्नक जेडआइस्टी जेभीसँग सम्झौता गरेर सुरु गरिएको थियो। सुरुमा तीन वर्षभित्र काम सक्ने लक्ष्य राखिएको थियो। तर ठेक्काको म्याद गत भदौ २१ गते सकिएपछि आगामी असार १९ गतेसम्म म्याद थप गरिएको छ।

निर्माण कम्पनीका साइट म्यानेजर दिनेशकुमार श्रेष्ठका अनुसार हाल दैनिक करिब १५० कामदार पुल निर्माणमा खटिएका छन् र तोकिएको समयभन्दा अगावै काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

रु १ अर्ब २१ करोड (भ्याटसहित) लागतमा निर्माण भइरहेको यो पुल तयार भएपछि मुग्लिन–पोखरा सडकखण्डको आवागमन थप सहज हुने अपेक्षा गरिएको छ

हाल नदीमाथि रहेको ३७० मिटर लामो दुई लेनको पुलबाट करिब ५० मिटर दूरीमा नयाँ चार लेनको पुल निर्माण भइरहेको छ।