काठमाडौं,पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज देशका केही क्षेत्रमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार विशेषगरी हिमाली भूभागमा मौसम बदली भई हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।

दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। अन्य हिमाली क्षेत्रमा पनि एक–दुई स्थानमा यस्तै प्रकृतिको मौसम देखिन सक्ने विभागले जनाएको छ।

यस्तै, यी प्रदेशका पहाडी भूभागमा पनि आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ। तराई क्षेत्रमा भने आंशिक बदलीसँगै मौसम सामान्य रहने अपेक्षा गरिएको छ।

रातिको समयमा गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ। बाँकी स्थानमा मौसम प्रायः सफा रहनेछ।

मौसमविद्हरूले विशेषगरी हिमाली र पहाडी क्षेत्रमा यात्रा गर्नेहरूलाई सतर्कता अपनाउन सुझाव दिएका छन्।