काठमाडौं, चैत ३, नेपाली कांग्रेस भित्र पछिल्लो समय आन्तरिक विवाद झनै चर्किएको देखिएको छ। प्रतिनिधिसभा चुनावमा पराजयपछि पार्टीका दुई धार—सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवा पक्षबीच आरोप–प्रत्यारोप खुलेआम हुन थालेका छन्।

देउवा पक्षका नेताहरूले “पार्टीमा दुई सभापति छन्” भन्ने अभिव्यक्ति सार्वजनिक गरेपछि विवाद नयाँ मोडमा पुगेको हो। नेता मीनबहादुर विश्वकर्मा ले विशेष महाधिवेशनलाई अस्वीकार गर्दै गगन थापालाई “घोषित सभापति” मात्रै भएको टिप्पणी गरेका थिए।

यही अभिव्यक्तिपछि पार्टीको आधिकारिक धारणा बुझ्न खोज्दा प्रवक्ता देवराज चालिसेले कडा तर संयमित प्रतिक्रिया दिएका छन्। उनले भने,
“सडकमा कसले के बोल्छ भनेर सबैको जवाफ दिँदै हिँड्न मिल्दैन। पार्टी आफ्नै पद्धति र प्रक्रियाअनुसार चल्छ।”

चालिसेका अनुसार अहिले पार्टी चुनावी समीक्षा र आगामी महाधिवेशनको तयारीतर्फ केन्द्रित छ। उनले स्पष्ट पारे,
“महाधिवेशन गर्ने कुरा नयाँ होइन, तर समय र प्रक्रिया केन्द्रीय समितिले तय गर्छ।”

सभापति गगन थापाको सम्भावित राजीनामाबारे फैलिएको चर्चा सम्बन्धमा पनि उनले प्रत्यक्ष टिप्पणी गर्न अस्वीकार गरे। “राजीनामा दिनु परे पार्टीको केन्द्रीय समितिमै आउँछ, बाहिरका हल्लामा प्रतिक्रिया दिनु आवश्यक छैन,” उनले थपे

कांग्रेसभित्रको यो शक्ति संघर्षले आगामी दिनमा पार्टीको दिशा र नेतृत्व संरचनामा ठूला प्रभाव पार्ने संकेत देखिएको छ। अहिलेका लागि भने संस्थागत निर्णयभन्दा बाहिरका अभिव्यक्तिलाई पार्टीले औपचारिक रूपमा महत्व नदिने सन्देश प्रवक्तामार्फत प्रस्ट गरिएको छ।